Monday, January 23, 2017

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल माघ ११ गते मंगलबार

राष्ट्रिय अखण्डता, सामाजिक मर्यादा, भेदभावरहित सत्य तथ्य सूचनाको सम्प्रेषण, शान्ति प्रवद्र्धनमा अग्रसर हुनु हामी सवैको कर्तव्य हो ।
नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 

सरकारी भवनहरुनै गैर कानुनी  

जिल्ला नापी कार्यालय डोटीको चार तले नयाँ भवन निर्माण हुँदैछ । दुई वर्षमा भवन निर्माण कार्य पुरा भईसक्ने गरी देबसिं निर्माण सेवासंग गत बैशाख २९ गते भएको सम्झौता अनुसार उक्त भवनको लागत करीब एक करोड ६८ लाख रुपैयाँ रहेको     छ । 
जिल्ला कृषि बिकास कार्यालय डोटीको चार तले भवन पनि निर्माणाधिन अवस्थामा छ । भ्याट र प्रोभिजनल खर्च सहित करीव दुई करोड नौ लाख रुपैयाँ लागतमा उक्त भवन पि एस कन्ष्ट्रक्सनले निर्माण गर्दैछ । गत जेठमा सम्झौता भएको उक्त भवन २०७५ जेठसम्म निर्माण भईसक्ने छ । 
जिल्ला प्रशासन कार्यालय डोटीको नयाँ भवन नयाँ बर्षको अबसरमा गत बैशाख १ गते उद्घाटन भयो । भ्याट र प्रोभिजनल खर्च सहित पाँच करोड, २६ लाख ५३ हजार चार सय रुपैयाँको लागतमा उक्त भवन निर्माणका लागि २०६९ साल असार ११ गते आषिश÷पि एस÷आई एस जेभिसंग सम्झौता भई गत वर्ष भाद्रमा निर्माण कार्य सम्पन्न भएको थियो । भव्य रुपमा गृह प्रवेशको योजना वनाईएको भएपनि चैत्र ३१ गते डोटीको जिजोडामाण्डौंमा भएको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएका कारण भवनको उद्घाटन सामान्य रुपमा भयो । 
माथी उल्लेख गरिएका तीनवटै भवन कानुनी रुपमा अबैध हुन । भवन ऐन, २०५५ को दफा ८ अनुसार यि भवनहरु ‘ख’ र ‘ग’ वर्गका भएका देखिएका छन । सोही ऐनको दफा ११ अनुसार कुनै पनि व्यक्ति, संस्था वा सरकारी कार्यालयले भवन निर्माण गर्न पूर्व नगरपालिकाबाट नक्सा पास गराउनु पर्ने व्यवस्था छ । तर, यि मध्ये कुनै भवनको पनि निर्माणका लागि नक्सा पास भएको छैन । 
यि तीन भवन मात्रै होईनन् थप पाँच भवनहरु समेत नक्सा नक्सा पास नभई निर्माणाधिन अवस्थामा रहेका छन । 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ९६ ले भवनको नक्सा स्वीकृत गर्ने जिम्मेवारी नग–रपालिकालाई दिएको भएपनि नगरभित्रै बन्ने सरकारी भवनहरु समेत नियम बिपरित निर्माण भएका  छन । शहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय डोटीले आर्थिक वर्ष २०७१÷०७२ देखि हालसम्म दिपायल सिलगढी नगरपालिका क्षेत्रभित्र आठ सरकारी भवन निर्माण भईरहेको जनाएको छ । ति भवनहरु कसैको पनि नक्सा पास भएको छैन । चार तले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय र दुई तले निर्देशनालयको कर्मचारी आवास, तीन तले जिल्ला जनस्वास्थ्य कार्यालय र दुई तले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको भवन नक्सा पास नभई निर्माण भईरहेको सो कार्यालयले नगर–पालिकालाई जानकारी गराएको   छ । क्षेत्रीय सदरमुकाममा निर्माणाधिन डोटी सभाहलको समेत नक्सा पास भएको छैन । 
त्यसो त यस अघि निर्माण भएका पुनराबेदन अदालत र डोटी जिल्ला अदालत लगायतका भवनहरु दर्जनौं भवनहरु समेत नगरपालिकाबाट नक्सा पास नगराई भएका छन । स्रोतका अनुसार सरकारी भवनहरुमा महिला तथा बालबालिका कार्यालय डोटीको मात्रै नगरपालिकाबाट नक्सा पास भएको छ । उक्त भवन २०६६ सालमा निर्माण कार्य सम्पन्न भएको थियो । सरकारी कार्यालयका भवनहरुनै नक्सा पास नगराई वन्ने भएपछि कसको के लाग्यो । 
पुष ५ गते नियमित रुपमा हुने सरकारी कार्यालय प्रमुखको बैठकमा सरकारी कार्यालयहरुले समेत नक्सा पास नगराउने गरेको कुरा उठ्यो । दिपायल सिलगढी नगरपालिकाका सामुदायिक बिकास अधिकृत रमेशचन्द्र जोशीले दिएको जानकारी अनुसार त्यसपछि  नगरपालिकाले पुष १९ गते सहकरी बिकास तथा भवन निर्माण कार्यालयलाई पत्राचार गरि आर्थिक बर्ष २०७०/०७१ देखि हालसम्म नगर क्षेत्रमा निर्माण भएका र भईरहेका भवनहरुको सूची माग ग¥यो । जिल्ला प्रशासन कार्यालय डोटीलाई बोधार्थ भवन कार्यालयले नगरपालिकालाई माघ २ गते उपलव्ध गराएको बिवरण अनुसार यि भवनहरुको नक्सा पास नगरेको वताएको छ । 
निर्माणाधिन भवनको नक्सा पास गराउनका लागि पत्राचार भईसकेको वताउँदै नगर–पालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्य भन्छन् ‘अव सवै कार्यालयहरुले नक्सा पास गराउँछन ।’ उनले अव नक्सा पास नगराई सुखै नभएको दावी गरे । 
निर्माणाधिन र निर्माण भएका भवनहरुलाई नक्सा पास गर्नका लागि पत्राचार गरिएको भएपनि नक्सा पास नहुन्जेलसम्म निर्माणाधिन भवनहरुको निर्माण कार्य भने रोकिएको छैन । यसरी कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका सरकारी संयन्त्र–हरुबाटै कानुन मिचिएको छ ।

सम्पादकीय 

हाट बजारको प्रश्न

तामझाम सहित पुष २३ गते डोटी जिल्ला सदरमुकामको टुँडिखेलमा हाट बजारको सुरुवात गरियो । सरकारी तथा गैरसरकारी कार्यालयहरुले हाट बजारको ठुलै प्रसंसा गरियो । जिल्लामा भएका सबै बिद्युतीय सञ्चारमाध्यमहरु र पहुँचमा भएका छापा सञ्चारमाध्यमहरुमा पनि नियमित रुपमा बिज्ञापन प्रकाशन भए र हुँदैछन । सरकारी कार्यालयहरु, गैरसरकारी संस्थाहरुले फोटो खिचे, भिडियो क्लिप पनि तयार गरे । हाट बजार भने पनि बजार त थिएन खासै तर चहल पहल भने त्यो दिन धेरै नै थियो । लाग्दैथ्यो सायद अब राम्रैसंग चल्छ नियमित रुपमा चल्छ हाटबजार तर भयो फरक । 
साप्ताहिक रुपमा लाग्ने भनिएको हाट बजार दोश्रो साता टुंडीखेलमा एक पसल मात्रै देखियो । सायद माघ १ गते अर्थात स्थानीय चाँडपर्व भएका कारण किसानहरुले आफ्नो उत्पादन ल्याएनन् अव अर्को साता आउँछन होला भन्ने अनुमान गरिएको थियो तर त्यसो भएन । अर्को साता अर्थात गत शनिवार पनि यस्तै दृष्य देखियो हाट बजारको । हाट बजार हेर्न केही सरकारी तथा गैरसरकारी कार्यालयहरुका प्रतिनिधिहरु आएका थिए । उनीहरुले फेरी एउटै पसल देखेर चित्त बुझाए । थप आएको थियो त बेसार बिक्री गर्ने महिलाहरुको एक समूह । 
यो हाट बजारको प्रसंगमा निकै छलफल भयो, स्रोत पनि  परिचालन भयो, जनशक्ति पनि परिचालन भयो । तर अवस्था उस्तै देखियो । यहाँ दोष कसैको पनि होईन, दोष हाम्रो अर्थ व्यवस्थाको हो । कसैले हामी पूर्ण रुपमा पूँजीबादी अर्थव्यवस्थामा छौं भनेर चिच्याएपनि नेपालको बर्तमान अर्थ व्यवस्था अर्धसामन्ति अर्थ व्यवस्थानै रहेको छ । अर्ध सामन्ति अर्थ व्यवस्था निर्वाहमुखी अर्थ व्यवस्था हो । किसानहरु निर्वाहका लागि उत्पादन गर्छन । घर परिवारमा आफुलाई चाहिने जति उपभोग गरेर बचेको जति बिक्री गर्ने चलन छ  अर्थात अधिकांस किसानहरु अहिलेसम्म पनि व्यवसायिक उत्पादन गर्दैनन् । जसको कारण उत्पादन कम हुन्छ । 
जव उत्पादन कम हुन्छ भने बजारमा कसरी उत्पादन आउँछ त ? यसलाई ध्यान दिनु जरुरी छ । उत्पादनमा बृद्धि गर्नका लागि भुमी सुधार नीतिमा परिवर्तन आउनु जरुरी छ पहिलो कुरा । जसरी जमिनको खण्डीकरण हुँदैछ, यस अवस्थाले व्यवसायिक कृषि प्रणालीमा कुनै पनि किसान जान सक्दैन, सधैं निर्वाहमुखी नै हुनेछ । व्यवसायिक हुनका लागि किसानहरुसंग प्रसस्त जमिन हुनु प¥यो, त्यो छैन । 
अर्को महत्वपूर्ण कुरा सिंचाईको हो । सेती नदी बिना काममा सलललल बगेको छ । सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने सपना बाहेक अरु हामीले केही पनि देखेका छैनौं सेती नदीबाट । नदी किनारमा आकाशे पानीको भरमा रहेका उर्वरक जमिन सिंचाई गर्नका लागि यदि हामीले आधुनिक सिंचाई प्रणाली अपनाउन सक्यौं र स्थानीय कृषकहरुलाई आधुनिक एवं व्यवसायिक खेतीका बारेमा जानकारी दिन सक्यौं भने मनज्ञ उत्पादन हुनेछ । त्यो उत्पादनले जव सामान्य रुपमा वजार पाउँदैन अनि हाट बजारमा आउने छ । हाट बजार भन्ने बित्तिकै कृषि उत्पादनसंग जोडिने बिषय हो । बाजा बजाएर वा भाषण गरेर वा फोटो खिचेर मात्रै हाट वजार सफल हुने भए डोटीमा २०६२ सालदेखिनै निरन्तर रुपमा हाट बजार सञ्चालन भएको हुने थियो ।   
त्यसैले सवै सरोकारवालाहरुले के सोच्नु जरुरी छ भने हाट बजार बाजा वजाएर मात्रै सफल हुने हैन । बाहिरी जिल्लाको उत्पादन हाट बजारमा ल्याएर बेच्न सक्ने सम्भावना छैन । हाट बजारका लागि उत्पादनमा बृद्धि हुनु आवश्यक छ । त्यसका लागि हामी सवैले पहल गर्नु जरुरी छ । नत्र केही समयमै यो हाट बजार पनि हराएर जाने निश्चित छ ।

थप समाचार 

प्रादेशिक महोत्सब फागुन १२ देखि

सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १२ गतेदेखि २१ गतेसम्म डोटीको दिपायलमा आयोजना हुने भएको छ । 
डोटी उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको उक्त महोत्सबले प्रदेश नं. ७ का सवै जिल्लाहरुको प्रतिनिधित्व गर्ने छ । महोत्सवमा “कृषि, पर्यटन, उद्योग व्यापारको पूर्वाधार, सुदूरपश्चिम बिकासको मुल आधार” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सबले प्रदेशभित्रका पर्यटकीय सम्भावना बोका धार्मिक, प्राकृतिक, ऐतिहासिक, साँस्कृतक स्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्ने बिश्वास गरिएको छ । 
डोटी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा महोत्सवको योजना सार्वजनिक गर्दै संघका अध्यक्ष नरेन्द्र खड्काले महोत्सबमा करीव ७० लाख बरावरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । 
हस्तकला प्रदर्शनी, लघु तथा घरेलु उद्योग प्रबिधि सम्वन्धि प्रदर्शनी, सुदूरपश्चिमका नोवटै जिल्लाको बिशेषता झल्काउने खालका साँस्कृतिक झाँकीहरु प्रस्तुती, कृषि प्रदर्शनी, सेती नदीमा ¥याप्टिङ्ग महोत्सवका मुख्य आकर्षणहरु रहने आयोजकले जानकारी दिएको छ । 
यस्तै रमाईलो मेला तथा बाल उद्यान, सुदूरपश्चिममा पाईने बिशेष प्रकृति खानाका परिकारहरु र प्रदेश नं. ७ का बिशेषता झल्काउने पोष्टरहरुको प्रदर्शनी गरिने अध्यक्ष खड्काले वताए । मेलामा स्थानीय, राष्ट्रिय तथा स्थानीय उत्पादनहरुको प्रदर्शनी र बिक्री बितरण हुने उनले   वताए । 
‘बिगतका वर्षहरु भन्दा यस बर्ष सुदूरपश्चिमकै कला साँस्कृतिमा बढी जोड दिईने छ’ अध्यक्ष खड्काले भने ‘महोत्सव अवधीमा प्रदेश नं. ७ को बिकासमा सम्भावना र चुनौतीहरुका बिषयमा प्रदेशस्तरकै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रयास गरिनेछ ।’ बिगतमा भएका कमीकमजोरीहरुलाई सुधार गरेर यस पटक महोत्सवलाई थप व्यवस्थित गरिने खड्काको भनाई छ । उनले महोत्सव आयोजना गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरेका छन ।

एमालेको मण्डले राष्ट्रबाद, काग्रेस–माओवादी लेण्डुपबादी

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय बरिष्ठ सदस्य एवं सेती महाकाली ईन्चार्ज कृष्ण गुरुङ्गले नेकपा एमालले उठाएको राष्ट्रबाद सामन्ती मण्डले राष्ट्रबाद भएको वताएका छन । 
माघ ५ गते देखि पार्टीले सञ्चालन गरेको अभियानका क्रममा डोटी पुगेका गुरुङ्गले आईतवार पार्टी जिल्ला कमिटीद्वा–रा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङ्गले नेकपा एमालेले पछाडि परेको बर्गलाई अधिकार दिन नचाहेको र भौगोलिक राष्ट्रबादलाई कडाईका रुपमा उठाएको आरोप लगाए । उनले भने ‘एमालेको मण्डले राष्ट्रबादको चंगुलमा अहिले ठुलो जमात फसेको छ, त्यहि जमातको भरमा के पी ओलीले आफुलाई राजा घोषणा गर्न चाहेका छन । 
उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई लेण्डुपबादी भएको आरोप लगाए । उनले भने ‘बर्तमान     सरकार र यो सरकारमा सहभागि कांग्रेस–माओवादीहरु लेण्डुपबादी शैलीमा गईरहेका छन ।’ नेपालको अर्थव्यवस्था भारतीय एकात्मक पूजीबादी व्यवस्था भएको र वर्तमान सरकारले भारतीय ईसारामा काम गरिरहेको उनले वताए । वर्तमान सरकार र सत्ता गठवन्धनले बिस्तारै यो देश लगेर भारतमा बुझाउने खतरा रहेको उनले आरोप लगाए । 
बर्तमान संबिधान जनपक्षीय नभएको वताउँदै गुरुङ्गले यो संबिधानले युगौं देखि पछाडि   पारेका बर्गहरुको प्रतिनिधित्व गर्न नसकेको दावी गरे । ‘बहुदलीय संसदबादी व्यवस्था एकाधिकारबादी पूजीबादी व्यवस्था हो’ गुरुङ्गले भने ‘यस्तो व्यवस्थामा दलालहरुका बीचमा प्रतिस्पर्धा हुन्छ र जो जिते पनि दलालनै जित्छ ।’ त्यसकारण यो व्यवस्था आफुहरुलाई स्वीकार नभएको गुरुङ्गको भनाई छ । 
सञ्चारकर्मीहरुद्वारा स्थानीय निकायको निर्वाचन सम्वन्धि सोधिएको प्रश्नको जवाफमा गुरुङ्गले भने ‘स्थानीय निकायको मात्रै होईन, कुनै पनि निकायको निर्वाचन हुन सक्दैन ।’ उनले भने ‘निर्वाचनको मिति घोषणा गर्नु वर्तमान सरकारको नियन्त्रणमा छैन ।’ एमालेले सडकमा निर्वाचनको माग गर्दैमा र कांग्रेस–माओवादीहरुले सरकारमा बसेर चुनाव गराउँछु भन्दैमा चुनाव हुन्छ भन्ने भ्रममा नपर्न सञ्चार–कर्मीहरुलाई अनरोध गर्दै उनले भने ‘भारतले नेपालमा चुनाव   गराउन चाहेको छैन, जवसम्म भारतले जवसम्म चुनाव गराउन चाँहदैन तवसम्म नेपालमा चुनाव हुन सक्दैन ।
शनिवार सम्पन्न पार्टी जिल्ला कमिटीले जिल्लाको संगठन सुदृढिकरण र जनपरिचालन गर्ने निर्णय गरेको पार्टी जिल्ला सचिव चन्द्र थापाले जानकारी दिए ।  

नयाँ शक्तिको दोहोरी नयाँ उचाईमा

रामहरी ओझा/सिलगढी
   माघ १०
२०७२ साल जेठ २ गते संबिधानसभाबाट नयाँ संबिधान जारी भएपछि ‘अव राजनीतिक क्रान्ति सम्पन्न भएको र देश समृद्ध गराउनका लागि आर्थिक क्रान्ति गर्नु पर्ने’ भन्ने निश्कर्षका साथ नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम   भट्टराईको नयाँ शक्ति नेपालको डोटी कमिटीमा देखिएको बिवाद नयाँ उचाईमा पुगेको छ । 
आर्थिक बिकासका लागि पुराना राजनीतिक शक्तिहरुबाट सम्भव नभएको र बिभिन्न क्षेत्रका योग्य व्यक्तिहरु सहितको नयाँ शक्ति चाहिएको भन्दै नयाँ शक्ति नेपाल पार्टी वनाउने भट्टराईको पार्टीमा देखिएको बिवादले यो पार्टी पनि नामको मात्रै नयाँ शक्ति भएको प्रष्ट्याएको छ ।
भट्टराईले नयाँ शक्तिको अभियान थालेसंगै तत्कालीन एकिकृत माओवादीबाट पूर्व सांसद मोहन वम लगायतको टोली अभियानमा जोडियो । त्यतिबेला माओवादीभित्रको अवस्था अहिलेको नयाँ शक्तिभित्रकै अवस्था जस्तो थियो । एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने, दुई कार्यालय स्थापना गर्ने, बिज्ञप्तीबाजी गर्ने, समानान्तर कमिटी वनाउने जस्ता क्रियाकलापहरु हुँदै एक पक्षको नेतृत्व गर्ने बम सहित उनको टिम नयाँ शक्तिमा प्रवेश ग¥यो । 
गत वर्ष मंसिर २२ गते बमकै नेतृत्वमा जिल्ला कमिटी पनि चयन भयो । बिचमा कमिटीमा हेरफेर गर्दै कैलाश साउँदलाई संयोजक वनाईयो । पुष ३ गते साउँदलाई कारवाही गर्दै बम फेरी संयोजक बने । 
यता नेकपा माओवादी केन्द्रबाट एक समूह पुष २ गते नयाँ शक्तिमा प्रवेश ग¥यो ।   नेता कार्यकर्ताहरुको ठुलो संख्या प्रवेश गरेपछि पुष २२ गते धु्रवीकरण भेला आयोजना गरियो तर त्यो धु्रवीकरण भेलालेनै दुई ध्रुवमा पु¥यायो पार्टीलाई । 
बम पक्षले साउँदलाई पार्टीको बिधान अनुसार कारवाही गरिएको र मोहन बमनै आधिका–रिक संयोजक भएको दावी गरेको छ । पुष २२ गते भएको ध्रुवीकरण भेलामा पार्टी प्रदेश नं. ७ का ईन्चार्ज भीम कडायत र संयोजक लिला केसी दुवै उपस्थित हुँदा बमलाइनै संयोजक स्वीकार गरिएको त्यो पक्षको दावी छ । 
अर्को पक्षले माघ ४ गते पार्टीको बिस्तारित बैठक आयोजना गरि शिबसिं ओलीको संयोजकत्वमा नयाँ कमिटी गठन गरेको छ । बम समूहले कारवाही गरेको भनिएका साउँदलाई नै सभाध्यक्ष वनाई आयोजना गरिएको बैठकमा ६९ जनाको   पुरानो कमिटीमध्ये ३८ जना सहभागि भएको ओली समूहको दाबी छ । तर, बम पक्षले उक्त भेलामा जम्मा ६ जना मात्रै उपस्थित भएको र बाँकी सवै माओवादी केन्द्रबाट प्रबेश गरेकाहरु मात्रै सहभागि भएको दाबी गरेको छ । 
बम समूहले आईतबार छुट्टै भेला सम्पन्न गरेको छ । ओली समूह जस्तै बम समूहले पनि उक्त भेलालाई बिस्तारित बैठक भएको बताएको छ । 
बमले पार्टीको नीति बिधि र प्रक्रिया मिचेर मनोमानी गर्न खोजिरहेको ओली पक्षको दावी छ भने प्रदेश संयोजक र ईन्चार्जको आडमा ओली समूहले अनावश्यक बिवाद सृजना गरिरहेको बम पक्षको दावी छ । 
कार्यालय पनि दुई 
दुवै पक्ष माओवादीमा हुँदा भएझै अहिले पनि दुई कमिटीसंगै दुई कार्यालय स्थापना भएका छन । ओली संयोजक रहेको समूहले बिधिबत् रुपमा नयाँ शक्ति नेपालको पार्टी कार्यालय अहिले स्थापना भएको दाबी गरेको छ । उक्त कार्यालयको प्रदेश ईन्चार्ज भीम कडायतले उद्घाटन गरेका  छन । 
उता बम समूहले पार्टीको कार्यालय यस अघिनै स्थापना भईसकेको दाबी गरेको छ । 
दुई कमिटी, दुई कार्यालय र नयाँ उचाईको बिवाद हेर्दा नयाँ शक्ति नेपाल पनि नाम मात्रैको नयाँ शक्ति भएको कुरा अनुमान गर्न गा¥हो पर्दैन ।

नेतृत्व बिकास तालिम सम्पन्न

महिला तथा बालबालिका कार्यालय डोटीको आयोजनामा महिलाहरुका लागि पाँच दिने नेतृत्व तथा क्षमता बिकास तालिम सम्पन्न भएको छ । 
कार्यालयले सञ्चालन गरिरहेको लैङ्गिक हिंसा निबारणका लागि महिला संस्थाहरुको एकिकृत बिकास कार्यक्रम अन्तरगत सञ्चालन भएको उक्त तालिम आईतवार सम्पन्न भएको हो । निमित्त कार्यालय प्रमुख सबिना श्रेष्ठका अनुसार तालिममा घण्टेश्वर महिला बहुउद्देश्यीय सहकारी संस्थाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । 
समूह, समिति र सहकारी संस्था मार्फत महिलाहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त तालिममा महिला नेतृत्व बिकास, सहकारी संस्थाको भुमिका, महिलाहरुको क्षमता बिकास र सशक्तिकरण सम्वन्धि बिषयहरुमा तालिम दिईएको निमित्त महिला बिकास अधिकृत श्रेष्ठले वताईन । 

बालबिवाह गर्नेको तिन पुस्ते

बैतडीको हाट गाबिसलाई बालबिवाह शुन्य गाबिस बनाउनु गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्त रीय बालविवाह न्यूनीकरण समितिले सक्रियता बढाएका    छन ।
बालबिबाह रोक्नका लागि ति समूहहरुले संयुक्त रुपमा अभियान सञ्चालन गरेका छन । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार कुँवरले जानकारी दिए । कुँवरले भने ‘बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिएका हो ।’ 
हाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बाल सञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए ।  भण्डारीका अनुसार बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गरिनेछ । उनले भने ‘तीन पुस्ते बिवरण सार्वजनिक हुने डरले पनि बालबिवाह गर्दैनन् भन्ने हामीले अनुमान गरेका छौं ।’ 
बालविवाह गर्न कानुनले बन्देज लगाएको भएपनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि आफुहरुले बाध्य भएर यस्तो प्रकारको कदम चाल्नु परेको भण्डारीले वताए । उनले बालबिवाह रोक्नका लागि सवै क्षेत्रबाट सहयोग हुने समेत अपेक्षा गरे ।

छहारी अनलाईन सञ्चालनमा

मकवानपुर जिल्लाको हेटौंडामा छहारी नेटवर्क सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । 
कर्मकालिका मिडिया प्राइभेट लिमिटेडले एक सामाजिक कार्य मार्फत छहारी नेटवर्क नामक अनलाइन न्युज पोर्टल सञ्चालनमा ल्याएको हो । सो अवसरमा कर्मकालिका मिडिया प्राईभेट लिमिटेडले  हेटौडा नगरपालिका–४ कर्रामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई बिहानको खाना बापत नगद रु १० हजार सहयोग गरेको आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले जानकारी दिए । 
नेटवर्क सञ्चालक सरला अधिकारीले आफ्ना ससुरा स्वर्गीय लक्ष्मी प्रसाद तिमल्सेनाको नाममा सासु गिर्जादेबी तिमल्सेनाको हातबाट आश्रममा आश्रितहरुका लागि सहयोग रकम प्रदान गराईन । मानवसेवा आश्रममा रहेका बुबा आमाहरुसंग आफ्नो खुशी साट्न पाउदा आनन्द लागेको सञ्चालक अधिकारीले बताईन । 
हेटौडा ४ कमलडाडामा कार्यालय  रहेको छहारी नेटवर्कले समाजमा रहेका नकारात्मक कुराको अन्त्यका साथै बिकास निर्माणको विषयलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।

छोटकरी समाचार 

बक्योता तिर्न सरकारी कार्यालयलाई आग्रह

लामो समयदेखि खानेपानीको बिल बुझाउन बाँकी रहेका सरकारी कार्यालयहरुलाई बिल भुक्तानी गर्न सरोकार–वालाहरुको भेलाले आग्रह गरेको छ । 
जिल्ला सदरमुकाम सिलगढीमा देखिएको खानेपानीको समस्याको बिषयमा सोमवार भएको सरोकारवालाहरुको भेलाले बक्योता तिर्न बाकी सरकारी कार्यालयहरु र आम उपभोक्ताहरुलाई रकम भुक्तानीका लागि पत्राचार गर्ने निर्णय गरेको छ । 
भेलाले खानेपानी समस्या समाधानका लागि आकस्मिक योजना निर्माण गर्ने समेत निर्णय गरेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जानकारी दिएको छ । यस्तै भेलाले नगर सरसफाईका लागि टोल बिकास संस्था र दिपायल सिलगढी नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको समेत जनाईएको छ । भेला स्थानीय बिकास अधिकारीको कृष्ण गौतमको अध्यक्षतामा भएको थियो ।

खेल समाचार 

नयाँ शक्तिको भलिबल फागुनमा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले  फागुनमा भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 
फागुन १० गते देखि १३ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पाँच क्षेत्रीय र तीन बिभागीय गरी ८ टोलीको सहभागिता रहने आयोजकहरुले जानकारी दिएका छन । आईतवार पत्रकार सम्मेलन मार्फत दिईएको जानकारी अनुसार प्रतियोगिता लिग कम नकआउट पद्धतिबाट सञ्चालन हुने छन । भलिबल प्रतियोगिताका संयोजक कुमार गुरूङ्गले प्रतियोगितामा नेपाल भलिबल संघको सहयोग रहने बताए । ‘प्रतियोगिता राजधानीमै हुने भएपनि खेलस्थल टुङ्गो लागिसकेको छैन’ गुरुङ्गले भने ‘राष्ट्रियस्तरको प्रतियोगिता भएकाले त्यसै अनुरुपको स्थान खोजिरहेका छौं । संयोजक गुरूङले यस विषयमा आफुहरु छलफल गरिरहेका र छिट्टै स्थानको टुङ्गो लाग्ने बताए । ‘हामी यस प्रतियोगितालाई निरन्तरता दिनेछौं’  उनले भने ‘आगामी संस्करण पोखरामा हुनेछ र त्यसमा महिला विधा पनि समावेश हुनेछ ।’
प्रतियोगिताको विजेता टोलीले नगद तीन लाख ५० हजार रूपैयाँ पाउनेछ भने उपविजेता टोलीले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउने छ। सेमिफाइनलमा पराजित हुने दुवै टोलीले सान्त्वना स्वरुप ५०÷५० हजार रुपैयाँ पाउने गुरुङ्गले जानकारी     गराए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद २५ हजार रुयैयाँ तथा अनुशासित टोलीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

चलचित्र÷मनोरञ्जन 

प्रियंका गीत छायाङ्कनमै बेहोस

चलचित्रको गीत छायाङ्कनका क्रममा चर्चित नायिका प्रियंका कार्की बेहोस भएकी छन । 
चलचित्र ‘राधे’ को एक गीत छायाङ्कन गर्ने क्रममा नायिका कार्की बेहोस भएकी हुन । हिउँ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा पुगेको चलचित्र ‘राधे’ युनिट कार्की एकाएक बेहोस भएपछि झस्कियो । चलचित्रमा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाङ्ककनका क्रममा नायक निखिल उप्रेतीसँग नृत्य गर्दै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाङ्कन  प्रभावित भएको चलचित्र निर्माता सुशिल पोखरेलले बताए । 
गीत छायाङ्ककनको क्रममा प्रियंका जी बेहोस् भएपछि उनलाई तत्काल होटलमा ल्याईएको थियो । करिब १० मिनेटपछि प्रियंकालाई होस आएको निर्माता पोखरेलले जानकारी दिए । उनले भने ‘अहिले अवस्था सामान्य छ, गा¥हो पर्ने देखिएमा अस्पताल पु¥याउने सोचमा छौं ।’ चिसो मौसमका कारण नै प्रियंका एक्कासी ढलेको हुन सक्ने चलचित्र कोरियोग्राफी गरिरहेका रामजी लामिछानेले वताए ।
प्रियंका बेहोस भएपनि चलचित्रको उक्त गीतको छायाङ्कन गर्ने कार्य पुरा भएको र चलचित्रका अन्य ७÷८ दृश्य छायाङ्कन गर्न बाँकी रहेको निर्माता पोखरेलले बताए । प्रियंकाको स्वस्थ्य अवस्था सामान्य बनेमा मंगलबार सबै छायाङ्ककन सकेर निर्माण टिम काठमाण्डौं फर्किनेछ । चलचित्र ‘राधे’ लाई जगदिश्वर थापाले निर्देशक    गरेका छन् । ‘राधे’ नयाँ बर्षको अवसरमा आगामी बैशाख १ गते रिलिज हुने बताईएको छ ।

नेपाल आईडल सुरु हुने

अनलाईन खबर
विश्वका विभिन्न ५० भन्दा बढी देशमा लोकप्रिय बनेको आइडल श्रृङ्खला अब नेपालमा पनि सुरु हुने भएको छ । भारतमा यतिबेला गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो ‘इन्डियन आइडल’   चलिरहेको छ ।
आइडलको मापदण्डलाई पुरा गर्दै चाडै नै नियमित प्रशारण आरम्भ गर्न लागेको ‘ए.पी १’ टेलिभिजनले यसको सम्पूर्ण अधिकार लिएको छ । अहिलेलाई ३ बर्षका लागि यसको अधिकार लिइएको ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । केहि  दिनमै नेपाल आइडलको अडिसन सुरू हुनेछ ।
अन्तरराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रममा नेपाल भित्र र नेपाल बाहिरका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष भित्रका नेपालीले सहभागीता जनाउन पाउनेछन् ।
यसको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।
सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यवसायिक गायक र गायिकाले समेत यसमा भाग लिने  पाउनेछन् । यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त   गर्नेछन् ।
बढीमा ३२ भागसम्म यो शो प्रशारण गरिने पत्रकार सम्मेलनमा जानका–री दिइयो । यो प्रतियोगीताको निर्णायकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । उनीहरुले सहि प्रतिभालाई चयन गर्ने बताएका छन् ।

लेख 

अन्यौलतामै पश्चिम सेती आयोजनाको भबिश्य   

रामहरी ओझा
‘हाम्रो गाउँमा गाडी त अहिलेसम्म पनि आएको छैन तर चिलगाडी (हेलिकप्टर) भने उहिले नै आएको    हो । त्यतिबेला मेरो उमेर करीव ३० वर्ष जति हुँदो हो, आकाशमा घुमीघुमी उ त्यो डाँडामा चिलगाडी बसेको थियो । हामी चिलगाडी हेर्नका लागि दौडेर गएका थियौंं । यहाँ पानीबाट बिजुली निकाल्छौं भनेको सुनेपछि बिजुली कसरी निकाल्ने रहेछन भन्ने कौतुहलता थियो । त्यो कौतुहलता अहिले पनि कायमै छ ।’ 
केही दिनअघि गाउँतिर जाँदा हातमा सुल्पी लिएर आँगनमा वसेका पश्चिम सेती जलबिद्युत आयोजनाको प्रभावित क्षेत्र भनिएको एक गाउँका करीब ६५ बर्षीय एक जनाले भनेका हरफ हुन यि । त्यतिबेला उनले आकाशमा बादल गर्जिदाँ चम्किने बिजुली मात्रै देखेका थिए । गाडी पनि देखेका थिएनन्, आकाशमा उड्ने भएकाले सवैले चिलगाडी भन्थे तर त्यो चिलगाडी पनि उनी लगायत गाउँका धेरैले प्रत्येक्ष देख्न पाएका थिए उनीहरुले । अब सधैं गाउँमा चिलगाडी आउने छ, बिजुली बल्ने छ र बिकास हुनेछ भन्ने आशा लगाएका थिए उनीहरुले । ति व्यक्तिलाई कुन सालमा चिलगाडी आएको थियो भन्ने त जानकारी छैन तर उनले आफ्नो उमेरसंग गरेको हिसावका आधारमा २०३८ सालतिरको कुरा हो जस्तो लाग्छ । तर त्यो आश अहिलेसम्म पनि आशमै सिमित छ ।
३५ वर्षपछि पनि पश्चिम सेती परियोजनाको प्रभावित तथा बिस्थापित भनिएको क्षेत्रमा बिद्युतको बिस्तार भएको छैन । बिद्युत मात्रै होईन परियोजना बन्ने हल्लाका कारण अन्य बिकास पनि रोकिएको छ । शिक्षा, खानेपानी, सिंचाई, तटवन्धन, सडक यस्ता पूर्वधारहरुमा राज्यले लगानी गरिरहेको छैन । ‘परियोजना बन्ने हो, हामीले बिस्थापित हुनु पर्ने हो’ भन्दा भन्दै करीव चार दशक गुजारे स्थानीयवासीहरुले ।  
ईतिहासको अध्ययन गर्दा पनि यो परियोजनाको बिषयम बहस हुन थालेको धेरै भएको देखिन्छ । सन १९८१ मा फ्रान्सको “सोग्रेह” नामक कम्पनीले बैतडीको ढुङ्गाड भन्ने स्थानदेखि लगभग ८ किलोमिटर माथी बाँध रहित आयोजना निर्माण गरी ३७ मेगावाट बिद्युत उत्पादन हुन सक्ने सम्भावना देखेपछि पहिलो पटक यो पश्चिम सेती आयोजना चर्चामा आएको पाईन्छ । बझाङ जिल्लाको उत्तरी हिमालमा मुहान भई बझाङ र बैतडी जिल्लाको पूर्बी भाग भएर डडेल्धुरा, डोटीको भू–भागलाई छुँदै अछामको सिमानामा पुगेपछि कर्णाली नदीमा मिसिने यो मझौला खालको सेती नदीलाई पश्चिम सेती भनिन्छ । पश्चिमाञ्चल बिकास क्षेत्रको कास्की पोखरा भएर बग्ने नदीको नाम पनि सेती नै भएकाले यसलाई पश्चिम सेती भन्न थालिएको हो । सन १९८७ देखि सोग्रेहले पुनः सम्भाव्यता अध्ययन गरी सन १९९१ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार जलासय रहित आयोजनाकै रुपमा बैतडीको ढुङ्गाडमा वाँध निर्माण गरी तिन सय ६० मेगावाट बिद्युत उत्पादन गर्न सकिने देखायो । एक सय प्रतिशत लगानीवाट दुई सय दुई प्रतिशत फाईदा हुने अर्थात कम लगानीमा धेरै फाईदा हुने योजनाको प्रस्ताब थियो । तर के कारणले होला उक्त आयोजना निर्माण गर्न तत्कालीन श्री ५ को सरकारले सोग्रेहलाई अनुमति दिएन । 
सन १९९० को राजनीतिक परिवर्तनपछि सन १९९४ वाट अष्ट्रलियन कम्पनी “स्मेक” ले परियोजनाको सम्भाव्यता अध्ययन सुुरु ग¥यो । नेपाल सरकारवाट निर्माणका लागि अनुमति पाई बिभिन्न सम्झौता समेत गरिसकेको स्मेकले बिभिन्न प्रकारका अध्ययनहरु गरेको थियो तर उसको अध्ययनवाट प्राप्त भएको तथ्य कुरा अझै वाहिर आउन सकेको छैन । 
देशमा प्रजातन्त्र आएकाले अब बिधिको शासन हुने र बिकास निर्माणका कार्यहरु तिब्र गतिमा हुने भन्ने         रेडियोबाट सुनेका स्थानीयबासीहरुले गाउँमा फेरी चिलगाडी आएपछि अब त पक्कै पनि बिजुली निस्किन्छ भन्ने आश लगाए । रेडियोमा आएको समाचार जस्तै आफ्नो गाउँमा पनि गाडी आउने आश गरेका थिए । लोकतान्त्रिक गणतन्त्रको स्थापना हुँदासम्म पनि उनीहरुको त्यो आश आशमै रहेको छ ।
डोटी, डडेल्धुरा, बैतडी र बझाङ्ग जिल्लाको सिमानामा जलायसययुक्त बाँध निर्माण गरिने भनिएको आयोजनाको स्मेकले गरेको अध्ययनलाई आधार मान्ने हो भने वाँधस्थल देखि बझाङ्गको चौडामवगरसम्म लगभग २५ किलोमिटर लम्बाई रहने जलासयमा एक अर्ब, ५६ करोड, ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, एक हजार दुई सय २ हेक्टर बन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर वुट्यान गरी जम्मा २ हजार, ३ सय, १३ हेक्टर जमिन डुवानमा पार्ने सम्भावना रहेको थियो । जमिनको सतहवाट एक सय ९५ मिटर अग्लो कंक्रिट बाँध निर्माण गरी ६.७ किलोमिटर लामो सुरुङ्ग मार्फत बर्तमान नदीको मार्ग परिवर्तन गरी, भुमिगत बिद्युत गृह निर्माण गरेर सात सय ५० मेगावाट बिद्युत उत्पादन गर्ने स्मेकको योजना थियो । सुरुमा एक्लै परियोजना निर्माण गर्ने भनेर नेपाल भित्रिएको स्मेकले सन २०१२ सम्म पनि लगानी जुटाउन नसकेपछि वाहिरिनु प¥यो । 
द्यइइत् अर्थात द्यगष्मि, यउभचबतभ, यधल बलम तचबलकाभच को अबधारणा अनुसार निर्माण कार्य सुरु भएको पाँच बर्षमै तयार गर्ने र ३० बर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजनाका साथ अध्ययन सुरु गरिएको आयोजना स्मेककै कारण करीब २५ वर्ष पछाडी धकलियो । भनिन्छ “बैस ढलेपछिको कौमार्यताले कुनै अर्थ राख्दैन ।” अहिले नेपालमै बिद्युतको बजार प्रचुर छ, छिमेकी राष्टू भारतमा पनि बिद्युत निर्यात गर्न सकिने सम्भावना छ । तर जब नेपालकै अन्य क्षेत्रमा पनि बिभिन्न नदीनाला र खोलाहरुवाट बिद्युत उत्पादन भईसक्छ त्यसपछि महत्व घट्दै जाने छ । आफ्नो कौमार्यता वचाईराख्ने दम्वमा बुढ्यौली लागेको समेत थाह नभएपछि बुढेसकालमा उत्पादन हुने सम्भावनानै रहँदैन । त्यस्तै भएको छ पश्चिम सेतीको अवस्था । प्रकृतिको उत्पत्तिसंगै उत्पत्ति भएको यो नदी निरन्तर रुपमा बगिरहेको छ । अहिलेसम्म यो नदीको पानी नदी किनारामा बस्नेहरुले खानेपानी, व्यक्तिगत सरसफाई र बस्तुभाउका लागि प्रयोग गर्ने वाहेक अन्य कुनै पनि प्रयोजनमा काम लागेको छैन । न त एक ईन्ची जमिन सिंचाई हुन सकेको छ, न कतै बिद्युत उत्पादन भएको छ, थप भएको छ भने हिन्दुहरुको अन्तीम संसार गर्ने मसान घाट । 
लगानी जुटाउन नसकेको आरोपमा सरकारले १८ वर्षपछि अर्थात २०६७ सालमा स्मेकको सम्झौता रद्द ग¥यो । त्यसपछि परियोजनाका बिचमा आयो चिनियाँ कम्पनी थ्री गर्जेज ईन्टरनेसनल कर्पोरेसन (सिटिजिआई) । थ्री गर्जेजसंग उर्जा मन्त्रालयले फेब्रुअरी २९, २०१२ अर्थात २०६८ साल फागुन १६ गते गरेको सम्झौतामा सन २०१४ देखि आयोजनाको निर्माण कार्य सुरु गरि सन २०१९ सालमा सम्पन्न गर्ने उल्लेख छ । तर, २०१७ हुँदा समेत आयोजना निर्माण हुनेमा अन्यौलता रहेको छ । थ्री गर्जेजले लगानी बोर्डलाई दिएको अध्ययन प्रतिवेदनले आयोजनामा थप अन्यौलता सृजना गरेको छ । १८ वर्षसम्म स्मेकले पानी नाप्ने काम मात्रै गरेको थियो । स्मेकको अध्ययन अनुसार नदीमा पानीको औषत बहाव दुई सय घनमिटर प्रति सेकेण्ड रहेको देखिएको थियो तर थ्री गर्जेजको अध्ययन अनुसार एक सय ६७ घनमिटर प्रति सेकेण्ड देखिएको छ । यस आधारमा आयोजनाबाट ६ सय मेगाबाट मात्रै बिद्युत हुन सक्ने कम्पनीको दाबी छ । कम्पनीले त फेरी पाँच सय मेगाबाट मात्रै उत्पादन हुने गरि निर्माण गर्दा राम्रो हुने सुझाव दिएको छ । 
सरकार भने सन २०१२ मा भएको प्रारम्भिक सम्झौतामा सात सय ५० मेगाबाट उत्पादन गर्ने भनेकाले जसरी पनि सात सय ५० मेगाबाटनै उत्पादन गर्नु पर्ने अडान राख्दै छ । माघ ३ गते भएको सम्झौता अनुसार सरकारको उक्त अडानमा कम्पनी फेरी अध्ययन गर्न सहमत भएको छ । यसको अर्थ अब बाँधको उचाई एक सय ९५ मिटरबाट बढाउनु पर्ने हुन्छ । त्यसै त भु(गर्वबिद्हरुले यस क्षेत्रको भू(बनोट हेर्दा यहाँ जलासययुक्त बाँध बनाउन नमिल्ने भन्दै परियोजनाको बिरोध गर्दै आएका छन, त्यसैमा बाँधको उचाई थप्नु प¥यो भने के होला ? बिद्युत प्राधिकरण र थ्री गर्जेजबीच भएको उक्त सम्झौताले उव्जाएको पहिलो प्रश्न हो यो । आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुको ज्यान जोखिममा पारेर सरकारले किन जबरजस्ती गर्दैछ, यस बिषयमा बहस हुनु जरुरी  छ । बिश्वका धेरै उचाई भएका जलाशययुक्त बाँधहरु भत्किँदा भएको क्षति त राज्य सञ्चालकहरुले पनि मुल्याङ्कन गरेको हुनु पर्छ । 
दोश्रो, यो संयुक्त उपक्रम सम्झौतामा आयोजनाको निर्माण कार्य कहिले देखि सुरु हुने र कहिले सम्पन्न हुने भन्ने कुनै कुरा उल्लेख गरिएको छैन । लगानी कसले कसरी गर्ने र कम्पनी खोल्नका लागि पहल गर्ने बिषयलाई सम्झौतामा उल्लेख गरिएको छ । तेश्रो, सम्झौतालाई ‘मस्यौदा सम्झौता’ भनिनु पनि पश्चिम सेती परियोजना थप अन्यौलतामा पर्नु हो । ‘मस्यौदा सम्झौता’ भन्नाले त्यो पूर्ण सम्झौता होईन भन्ने प्रष्ट भएको छ । चौथो, लगानीको हिसाबले ७५ प्रतिशत थ्रीगर्जेज र २५ प्रतिशत प्राधिकरणले गर्ने भन्ने त्यो मस्यौदा सम्झौतामा छ । प्राधिकरणले गर्ने भनिएको लगानी खोजी गर्ने भन्नुले फेरी पनि परियोजनाको हबिगत स्मेकको पाला जस्तै हुने त होईन ? भन्ने आशंका छ । यस्तै स्थानीयलाई दिईने भनिएको शेयर थ्री गर्जेजले व्यवस्था मिलाउने भन्ने कुरा मस्यौदा सम्झौतामा छ । यो अस्पष्ट बिषय हो । प्रारम्भिक सम्झौता अनुसार स्थानीयबासीहरुलाई १० प्रतिशत लगानी दिने भन्ने उल्लेख गरिएको थियो । स्मेकले त्यतिबेला आयोजनाको लागत अनुमान एक अर्व ६० करोड अमेरिकी डलर रहेको वताएको  थियो । थ्री गर्जेजले अहिले पनि यतिनै लागतको अनुमान गरेको छ । तर यदि ६ सय मेगाबाटमा झार्ने हो भने एक अर्ब ६ करोड (आकास्मिक खर्च करीब ४ करोड डलर बाहेक) अनुमान गरेको छ । 
पश्चिम सेती परियोजना निर्माणमा अहिले पनि पुरानो अन्यौलता कायमै छ । स्मेकले परियोजनावाट बिस्थापितहरुलाई कहाँ पुनःस्थापना गर्ने, के क्षेतिपुर्ति दिने, उनीहरुलाई अन्य सहुलियत के दिने भन्ने वारेमा अन्तीमसम्म पनि आफ्नो योजना सार्वजनिक गरेन । परियोजनामा उपलव्ध हुने जनशक्ति कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा पनि कुनै योजना ल्याएन । स्थानीयवासीहरुले पश्चिम सेती परि–योजनावाट उत्पादित बिद्युत बाल्न पाउने कि घरको छतमाथीबाट गएको ४०० केवी क्षमता भएको बिद्युत प्रशारण लाईन हेर्दै जीवन गुजार्ने भन्ने बिषयमा उसको कुनै ठोस योजना आएन । यि अहम् सवालहरु अहिले पनि छन । 
स्मेकले स्थानीयबासीहरुलाई देखाएको सपना अहिले पनि उनीहरुको मस्तिष्कमा ताजै छ । करीब ३४ हजारले निर्माण अबधीभर रोजगारी पाउने र निर्माण सम्पन्न भईसकेपछि पनि ठुलो संख्यामा स्थानीयबासीहरुले नियमित रोजगारी पाउने लोभ स्मेकले देखाएको थियो । थ्री गर्जेज यो लोभ देखाउने तहमा त पुगेको छैन तर स्थानीयबासीहरुले के पाउँछन ? भन्ने बिषयमा सोच्नु पर्ने अनिबार्य हो । पुस्तौं देखि बसोबास गर्दै आएका स्थानीयबासीहरुको आफ्नो प्रकारको सामाजिक, साँस्कृतिक तथा आर्थिक सम्वन्ध रहेको छ । प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन र उपयोगमा उनीहरु सचेत छन । निश्चित रुपमा बिकास गर्नका लागि बिनाश पहिले हुनु आबश्यक हुन्छ । त्यसैले आयोजना निर्माणका लागि उनीहरुले आफ्नो ठाउँ छोड्नु अनिबार्य छ तर उनीहरुको भबिश्यको बिषयमा ठोस् योजना किन आउन सकेको छैन । भोली रोजगारीको कुरा आउँदा प्राबिधिकहरु आबश्यक पर्ने छन । करीब ८० प्रतिशत घरधुरीबाट भारतमा गएर रोजगारी गर्नेहरु प्राबिधिक होईनन्, उनीहरुले के रोगजारी पाउँछन ? यस बिषयमा अहिलेसम्म कुनै बहसनै भएको छैन ।
अहिले अनुमान गरिएकै आकारको बाँध बन्ने हो भने करीब १० हजार जनता बिस्थापित हुने गरी, बिद्युत उत्पादन भएर पनि यो क्षेत्रलाई अन्धकारमा राख्ने गरी, यो क्षेत्रका युवाहरुले भारतका गल्लीगल्लीमा डण्डा वजाउनु पर्ने तर बिदेशीहरु आएर यहाँ जागिर खाने गरी र भोली यदि बाँध भक्तियो भने यस क्षेत्रको बिनास हुने गरी यदि यो परियोजना वनाउन खोजिन्छ भने त्यो यस क्षेत्रका लागि मात्रै होईन नेपालकै लागि दुर्भाग्य हुनेछ । नेपाल सरकारले यस बिषयमा ठोस कार्यक्रम अगाडी ल्याउनु जरुरी छ ।

मोफसल पत्रकारिता 

पहिलो हुने होडमा गलत हेडलाईन नराखौं

सरला अधिकारी (सञ्चालक) 
छहारी अनलाईन, मकवानपुर
तपार्इंको परिचय पाउँ न ? 
— म सरला अधिकारी । मेरो घर मकवानपुर जिल्ला हो । हाल म हेटौडाबाट आफैले एक नयाँ अनलाईन सञ्चालन गर्दैछु । जसको आजमात्रै उद्घाटन भएको छ । 
नयाँ अनलाईन उद्घाटन गर्नु भएछ, तपाईलाई उत्तरोत्तर प्रगतिको कामना सहित बधाई पनि छ । 
— धन्यवाद, सबैको सहयोगको पनि अपेक्षा गरेकी छु । 
कति समय भयो यस पेशामा लागेको ?
— म बिगत १० बर्ष देखि पत्रकारितामा सक्रिय छु  । मेरो पत्रकारिता मकवानपुरको नेशनल एफएमबाट सुरु भएको हो । त्यसपछि काठमाण्डौंमा रहेको नेपाल एफएम नेटवर्कमा करिब चार बर्ष काम गरे, फेरी मकवानपूर जिल्लामै फर्किएर चार बर्ष हेटौडा एफएममा काम गरे । हाल चाँही म आफ्नै अनलाईन पत्रिका छहारी नेटर्वकमा ब्यस्त छु । 
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— पत्रकारितामा बिट हुने भएपनि मोफसल पत्रकारितामा त्यसमा पनि हामी रेडियोकर्मी हरुले सबैखाले बिषयमा कलम चलाउनु पर्ने रहेछ । सबै बिटमा कलम चलाएको बानी परेर होला अचेल सबै बिटमा पत्रकारिता गर्न रुचाउँछु ।    
मोफसलमा काम गर्ने पत्रकारहरुका त धेरै समस्याहरु छन भन्ने गरिन्छ नि ! कस्तो पाउनु भयो ?
— मैले मोफसल र केन्द्रमा काम गरेको आधारमा केन्द्रमा भन्दा मोफसलमा धेरै समस्याहरु देखेको छु । मोफसलमा सिमित स्रोत साधन र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । समाचार लेखेकै आधारमा बिभिन्न पक्षबाट  दबाव झेल्नु पर्ने, धम्की सहनु पर्ने बाध्यता रहेको छ । काम धेरै गर्नु पर्ने, त्यस अनुसारको पारिश्रमिक नहुने अवस्था रहेको छ । 
तपाई त महिला पत्रकार, पुरुष पत्रकारहरुले खेप्नु परेको समस्या भन्दा थप समस्याहरु छन कि महिला पत्रकारहरुले ? 
— त्यो त अबश्य पनि छ  । नाम चलेका मिडिया हाउसका समाचार डेस्कमा पनि लैङ्गिक समानता छैन । डेस्क प्रमुखहरु पुरुषहरुनै हुने भएका कारण महलिाका आधारभुत समस्यामा पनि चासो नदिँदा काम गर्न असहजता छ । 
समस्यानै समस्या भएको पेशमा के कुराले आकर्षण ग¥यो ? 
— पत्रकारिता मेरो सानै देखिको रुचिको क्षेत्र हो । मेरो घरमा मेरो दाजुहरु पनि यहि पेशामा लाग्नु भएको र उहाँहरुको पेशाप्रतिको प्रतिबद्धता र यो पेशा मार्फत देश समाज रुपान्तरण गर्न सकिन्छ भन्ने अठोट देखेर नै म पनि यो पेसामा आकर्षित भए र मेरो पढाईको बिषय पनि यहि भएकाले मैले यहि क्षेत्र रोजेको हुँ । 
मोफसलै भएपनि मकवानपुर जस्तो व्यस्त एवं बिकसित जिल्लाबाट पत्रकारिता गर्दै हुुनु हुन्छ, कसरी बुझ्नु भएको छ यस जिल्लाको पत्रकारितालाइ ? 
— मोफसलमा पत्रकारिता गर्न समस्या त छ , तर अन्य जिल्लाको तुलनामा मकवानपुरमा पत्रकारिता गर्न  सहज छ । पत्रकारहरु बिचको एकता, अग्रजहरुले गर्ने सहयोग, पत्रकार महासंघ मकवानपुरको सक्रियताको कारण पनि यो सम्भब भएको हो । 
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— सबै भन्दा पहिला त श्रमजीबि पत्रकार ऐन कार्यान्वयन हुनु प¥यो । धेरै मिडियाहरुले नियुक्तीपत्र नदिएर नै काम लगाईरहेको अबस्था छ, यसमा राज्यले अनुगमन गर्नु पर्छ । यसपछि मोफसलका सरकारी बिज्ञापनहरु मोफसलमै प्रकाशन एवं प्रसारण हुने गरी राज्यले नीति तय गर्नु प¥यो ।  
मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले चाँही पत्रकारको हकहितमा राम्रै काम  गरिरहेको छ । यस जिल्लाका पत्रकारहरुको जीवन बिमा, उपचारमा छुट र पत्रकारलाई परेको समस्यामा आवाज उठाउने काम गरेको छ । 
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— बैचारिक संगठनका कुरा मसंग नगर्नुस् । यी संगठन भनेका महासंघको चुनाबका बेलामा मात्र पत्रकार चिन्ने संगठन हुन्, यस्ताको के भुमिकाको कुरा गर्नु हुन्छ । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— मेरो बिचारमा पत्रकारिता समाज र देशप्रतिको जिम्मेवारी हो । 
कत्तिको कमाइ गर्नु भयो पत्रकारितामा लागेर ? 
— कमाई त त्यस्तै हो समय बेतित् गरियो । धेरै कुरा सिक्ने अबसर मिलिरहेको छ । समाजले दिने ईज्जत र प्रतिष्ठा नै ठुलो कुरा हो जस्तो लाग्छ । 
नेपालको पत्रकारिता क्षेत्र दिन प्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयता प्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप लाग्न थालेको छ, मकवानपुर जिल्लाको अवस्था कस्तो पाउनु भयो ?
— केही ब्यक्तिको आचरणसंग जोडेर पेशाालाईनै बदनाम गर्न मिल्दैन । समाचारको बिश्वसनीयता ठुलो कुरा हो । पित पत्रकारिता गर्नेहरुलाई समयले नै पाखा लगाउने छ ।  मकवनपुरको अबस्था मैले त्यस्तो पाएको छैन ।  
तपाई त त्यसै पनि महिला पत्रकार, यस्ता कुरामा लाग्नु भा छैन होला नि ! 
— लाग्ने त परको कुरा मैले सोचेको पनि छैन । 
नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुको निर्वाचन हुने मिति तय भएको छ, नेतृत्वका लागि अनेक प्रयासहरु हुन थालेका छन । के सुझाव दिनु हुन्छ महासंघका सदस्य साथीहरुलाई ? 
— पत्रकारहरुको हकहितलाई ध्यानमा राखेर काम गर्न सक्ने नेतृत्व चयन गरौं । त्यसमा सांगाठनिक हिसाबले नभई कार्य दक्षताको आधारमा समाबेशी किसिमको कार्यसमिति चुनौं भन्न चाहन्छु । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— अन्तिममा म यो पेशामा लाग्ने सम्पुर्ण पत्रकार साथीहरुलाई पेशाको मर्यादाको ख्याल राख्न आग्रह गर्दछु । पहिलो हुने होडमा समाचार र हेडलाईनहरु भ्रामक खालका नराख्न पनि अनुरोध गर्दछु । 
समय र बिचारका लागि धन्यबाद । 
—मेरा बिचारहरु राख्ने अवसर दिनु भएकोमा तपाइलाई पनि धन्यबाद ।

लोकसेवा आयोगको तयारीका लागी उपयोगी 

१. स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सहितको प्रतिवेदन कहिले सरकारलाई बुझायो ?                                                                 
— २०७३ पुष २२
२. नेपालको संविधानको धारा २८७ उपधारा (१) अनुसारको भाषा आयोग कसको अध्यक्षतामा गठन    गरियो ?                                                                 — डा.लबदेव अवस्थी
३. काठमाण्डौं महानगरपालिकामा विद्युतीय नक्सापास प्रणाली (Electronic building permit system) को सुरुवात कहिले भएको हो ?                                   — २०७२ मंसिर २० 
४. विश्वकै पहिलो Quantum communication satellite  प्रक्षेपण गर्ने देश कुन हो ?  — चिन 
५. नेपाल राष्ट्र बैंकले कहिले देखि ब्याजदर करिडोर लागु गरेको हो ?             — २०७३ श्रावण २
६. नेपाल सरकारले कहिले कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो ?                                                               — २०७३ भाद्र २९
७. फोब्र्स पत्रिकाको अनुसार सन् २०१६ को सबैभन्दा बढी कमाउने सूचीमा परेका क्रिकेटर को हुन ? 
— महेन्द्र सिंह धोनी
८. एकाइसौं राष्ट्रमण्डल खेल कहाँ र कहिले हुने भएको छ ?  
— गोल्ड क्वेष्ट,अष्ट्रेलिया, ०१८ अप्रिल ४–१५
९. श्रेया धिताल कुन खेलसँग संम्बन्धित छन् ?                                            —पौडी 
१०. ‘माया मारेको मान्छे’ कसको कृति हो ?                                 —खगराज अधिकारी 
११. न्यूयोर्क कुन नदीको किनारमा अवस्थित छ ?                                        — हड्सन
१३. संसारको सबैभन्दा नुनिलो पानीको ताल कुन हो ?                                — मृत सागर 
१४. कुनै घटी चापको केन्द्रतिर घुमीघुमी जोडसँग बहने वायुलाई के भनिन्छ ?             — चक्रपात
१५. बजारको सहर भनी कायरोलाई चिनिन्छ भने पानी मुनिकोे देश भनी कुन देशलाई चिनिन्छ ?
 — नेदरल्याण्ड
१६. विश्वको सबैभन्दा ठुलो फुटबल मैदान कुन हो ?                           — माराकाना (ब्राजिल)
१७. विश्वको सबैंभन्दा पुरानो खेल कुन हो ?                                               — पोलो 
१८. सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?                   — हेलिस्कोप Heliscope
१९. पृथ्वीको ……Sister PlanetÆ ……Twin PlanetÆ  भनेर कुन ग्रहलाई चिनिन्छ ?           — शुक्र
२०. सबैभन्दा ठूलो शिशुग्रह कुन हो ?                                          — सिरस-ceres_
२१. पृथ्वी गोलो छ भनी घोषण गर्ने पहिलो व्यक्ति को थिए ?                         — पाइथागोरस
२२. बौद्ध धार्मिक स्थल ‘गोटीहवा’ कुन जिल्लामा पर्दछ?                               — कपिलवस्तु
२३. नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ?                            — २.२७५
२४. चक्राकार नदी भन्नाले कुन नदीलाई चिनिन्छ ?                                — कालिगण्डकी
२५. सिन्धुलीगढीबाट उत्पति हुने नदि कुन हो ?                                            — कमला 
२६. अछाम जिल्लाको सदरमुकाम मंगलसेन हुनु पूर्व कुन ठाउँमा रहेको थियो ?             — रिडीकोट
२७. रातामाटे झरना कुन जिल्लामा पर्दछ ?                                         — ओखलढुङ्गा 
२८. म्याग्नाकार्टाको परिणाम स्वरुप प्रचलनमा आएको रिट कुन हो ?            — बन्दीप्रत्यक्षीकरण
२९. Man is born freedom everywhere he is in chain"  कसको भनाई हो ?        — रुसो
३०. पक्की  सडक बनाउने तरिका कसले पत्ता लगाएका  हुन ?                          — मेकडम
३१. राज्यक्रान्ति अघि फ्रान्सको संसदलाई के भनिन्थ्यो ?                            — स्टेट जनरल
३२. अमेरिकी स्वतन्त्रता संग्राम कति बर्षसम्म चलेको थियो ?                             — ८ बर्ष
३३. अमेरिका स्वतन्त्र घोषणको प्रारुप कसले तयार पारेका थिए ?                 — थोमस जेफरसन
३४. रुसी अक्टोेबर क्रान्तिबाट उत्पत्ति भएको नयाँ विचारधारा कुन हो ?        — समाजवाद/साम्यवाद
३५. हिटलरको चर्चित आत्मकथाको नाम के हो ?                                    — मेरो संघर्ष
३६. ११ औं विश्वकप क्रिकेट, २०१५ मा उत्कृष्ट खेलाडी को घोषित भएका थिए ?      — मिचेल स्टार्क
३७. केटी देख्ने बित्तिकै बेहोस हुने महान वैज्ञानिक को हुन ?                       — हेनरी केभिण्डस
बौद्धिक परीक्षण खण्ड
३८) केहि रुपैयाँ  A,B,C,D  को बीचमा 4:3:2:1  को अनुपातमा विभाजन गर्दा D ले भन्दा C ले1000   रुपैयाँ बढी पाउछ भने Aको भागमा कति रकम पर्ला ?
A)      1500                       B) 2000                   C) 2500                D)4000
३९)  प्रश्न चिन्ह (?) राखिएको ठाउँमा मिल्ने विकल्प कुन हो ?
HIJ : MNO :: RST :  ?
A)    UVM               B) WXY                   C)XYZ               D) none of the above
४०) अर्थपूर्ण ढङ्गले क्रम मिलाई राख्नुहोस् ।
1)         Milkyway           2) Sun             3) Moon            4) Earth              5) Stars
A)        1,4,3,2,5                 B) 2,3,4,5,1                C)  3,4,2,5,1                D) 4,3,2,5,1
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ । 
संकलककर्ता ः प्रयाग राज उपाध्याय
सुझावका  लागि ः 9848626741
मिति  २०७३ साल माघ ४ गते मंगलबारको बिम्ब साप्ताहिकमा प्रकाशित बौद्धिक परीक्षण प्रश्नको सही उत्तरहरु ः
३८) द्B                                             ३९) A                    ४०) B

साहित्य/सृजना 

निभ्दै गरेको सुर्य

तिम्रो हत्केलामा 
कति समय अडिरहन सकुँला यसरी ।
म आफ्नै लय विर्सेर हिँडेको फकिर, 
विर्सेर आफ्नै निजी बाटो वर्षौ देखि उहि गल्लीमा भौतारिरहेको 
एउटा बेवारिसे पागल जस्तो
र बोटको निलो आकाशमा फूलीरहने एउटै रंगको फूल जस्तो ।
आफ्नै अनुहारबाट चुहिन बाकि केहि उज्यालो छ 
केहि छ यात्रा अझै बाकि 
एक अंगालो लाल किरणहरुको गुच्छाहरु छन 
तिम्रो जीवन रंग्याउन अपुग भए जस्तो ।
म वर्षौ अघि हिडीरहे एक्लै 
तिमी वर्षौ बाँचेको पृथ्वी पनि यहि हो ।
तिमीले देखेर पनि नदेखे जस्तो गरेको यहि ठाउँ हो ।
तर उत्तराद्र्धको एक निमेष
तिम्रो हत्केला माथी अडिनु पनि एउटा सौभाग्य हो ।

शासक लाई प्रश्न 

हाम्रो हकको भन, हिसाब कहिले हुन्छ !
सवाल जिन्दगीको हो, जवाफ के पाईन्छ
बुनेका थियौं जो सपना, क्रान्ति मैदानमा 
पुरा हुन आँखाकै अघाडि, अझै के चाहिन्छ

धेरै भयो खेल स्वार्थमा,जात–जाति र मधेश–पहाडेको
बिध्वम्सक बिचारका पर्खाल भत्काऊन, अब के चाहिन्छ
न नेपाली मुटुको एकता, न चोर र साधुमा भिन्नता
अब भन ? इमान्दार कानुनी राज्य, कहिले पाईन्छ

झुठो नारा घन्काउदैछौ, ऊज्यालोको तिमि
निष्पट अन्ध्यारो तोड्न, किरण कहाँबाट ल्याऊला
फैलाउदा सुगन्ध, मित्रताको देशमा
सुकवास बाट्दै नेपाली मन, गुलाब कहिले होला !!
सुर्य बस्याल 
हाल नयाँ दिल्ली भारत

मुक्तक

बनाउछु म उ सधै भत्काउन खोज्छ
बारबार मलाई मात्रैै सताउन खोज्छ ।।
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मै माथी हात उठाउन खोज्छ ।।
नबिन जेठारा ‘महासागर’

मुक्तक

जस्तो भेट्यौ त्यÞस्तै बन्ने मान्नै पर्छ तिमीलाई
फूल फूलाई जरा खन्ने मान्नै पर्छ तिमीलाई
वा यती छिट्टै भूल्न सक्यौ त्यति मिठो अतित
मलाई त चिन्यौ धन्य मान्नै पर्छ तिमीलाई
मिलन बिबस बम
तिखात्तर, डोटी

निरोगीलाई प्रेमको रोगी बनायो तिमीले 

दिल मागीमागी हिड्ने जोगी बनायो तिमीले ।।
म त गरिब प्रदेशी थिए, कर्म हारा मान्छे 
मायाको बोझ उठाइ हिड्ने बोकी बनायो तिमीले ।।
कृष्ण भट्ट ‘प्याशी’ 
तिखात्तर–८ डोटी

सूचना/सन्देश/बिज्ञापन 

कर्मचारी आवश्यकता सम्बन्धी सूचना       


प्रथम पटक सूचना प्रकासित मिति ः २०७३÷१०÷०९    
समान पहँुुच विकास केन्द्र (सिड) नेपाल पचनाली डोटीद्वारा युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित मातृशिशु स्वास्थ्य कार्यक्रम लागी तपशिल अनुसारका कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकासित भएको मितिले ७ दिनभित्र संस्थाको सिलगढीस्थित सम्पर्क कार्यालयमा पुग्ने गरी दरखास्त आह्वान गरिन्छ । 
तपशिल   
कार्यक्रम   ः मातृशिशु स्वास्थ्य कार्यक्रम,    
पद ः कार्यक्रम सहायक (अनमि÷अहेव),    
संख्या ः १ (एक) 
योग्यता    ः मान्यता प्राप्त शिक्षण संस्थाबाट अनमि÷अहेव उत्तीर्ण गरेको ।
अनुभव     ः कम्तीमा १ वर्ष सम्बन्धित विषयगत कार्यअनुभव भएको ।         
कार्य क्षेत्र   ः तिजाली र घण्टेश्र गाविसहरु
पेश गर्नु पर्ने कागजातहरु ः 
  • अनमि÷अहेव पास गरेको प्रमाण पत्र तथा काउन्सिल दर्ता प्रमाण पत्र, 
  • नेपाली नागरिकता प्रमाण पत्र 
  •  हस्त लिखित निवेदन 
  •  कार्यालयमै उपस्थित भई कार्यालयको फाराम सहित कार्यालय समयभित्र पेश गर्नु पर्ने छ ।

सेवा÷सुविधा    ः कार्यक्रमको नियमानुसार  
परीक्षाको किसिम  ः लिखित तथा अन्तरवार्ता ।
दरखास्त       ः सिड नेपालको निवेदनको ढाँचा (फाराम) संस्थाको सिलगढीस्थित कार्यालयबाट लिई र शैक्षिक योग्यताको प्रतिलिपि सहित वुझाउनु पर्नेछ ।
ग्राह्यता         ः कार्यक्षेत्रको उम्मेदवारलाई विशेष ग्राह्यता दिईनेछ ।
दरखास्त दिने अन्तिम मिति ः २०७३ साल माघ १५ गते शनिबार (शनिवार पनि दरखास्त लिईनेछ र सार्बजनिक बिदा भएपनि सोही दिन दरखास्त दिने अन्तिम दिन हुनेछ ।)
सम्पर्क मिति  ः २०७३ साल माघ १५ गते शनिबार
दरखास्त दस्तुर  ः रु २५०
नोट ः रित नपुगी वा म्याद नाघी आएका दरखास्त उपर कुनै कार्यवाही हुने छैन । यस सम्बन्धमा थप जानकारी चाहिएमा संस्थाको सिलगढी डोटीस्थित सम्पर्क कार्यालयको फोन नं. ०९४–४११०११  मा सम्पर्क गर्न सकिनेछ ।                    
पदपुर्ति समिति

शिक्षक आवश्यकता सम्वन्धि सूचना

प्रथम पटक सूचना प्रकाशित मिति ः २०७३÷१०÷११ 
उपरोक्त सम्बन्धमा छपाली गाबिस–५, डोटीमा रहेको यस श्री छपाली माध्यामिक बिद्यालयमा प्रा.बि. तह तृतीय श्रेणीमा शिक्षकको पद    रिक्त रहन गएकोले जिल्ला शिक्षा कार्यालय डोटीको पत्र संख्या ०७३÷०७४ र चलानी नंं.११३५ को पत्रानुसार शिक्षकको बिज्ञापनका लागि अनुमति पत्र प्राप्त भएकोले शिक्षा नियमाबली २०५९ को नियम ९७(२) अनुसार शिक्षक करारमा नियुक्त गर्नु पर्ने हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
तपशिल 
बिज्ञापन नं. ०१÷०७३
पद संख्या ः १ (खुला) 
तह ः प्रा.बि. तृतीय 
स्केल ः नेपाल सरकारले तोके अनुसार 
शैक्षिक योग्यता ः आई.एड. वा सो सरह 
उमेर ः १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको 
पेश गर्नु पर्ने कागजातहरु 
ड्डशैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डनेपाली नागरिकताको प्रतिलिपी २ प्रति 
ड्डस्थानीय अध्यापन अनुमतिको प्रतिलिपी २ प्रति 
ड्डनिरोगिताको प्रमाण पत्रको प्रतिलिपी २ प्रति 
ड्डतालिम सम्वन्धि प्रमाणपत्रका प्रतिलिपी २ प्रति 
दरखास्त दिने अन्तिम मिति ः २०७३÷१०÷१४ गते कार्यालय सयमभित्र
परीक्षा दस्तुर ः २०००/-
परीक्षाको किसिम ः लिखित र अन्तरबार्ता 
परीक्षा मिति ः जि.शि.का. डोटीले तोके बमोजिम हुनेछ ।
दरखास्त बुझाउने स्थान ः श्री छपाली मा.बि. डोटी 
सम्पर्क फोन ः (प्र.अ.) ९७४९०५८७८९, (लेखापाल) ९७४९०५११३६
पुनश्च ः म्याद नाघि आएका र रित नपुगी आएका निवेदन उपर कुनै कारबाही हुनेछैन ।

हार्दिक बधाई

दिपायल सिलगढी नगरपालिका–२ सिलगढी निवासी आत्मीय मित्र श्री टंक प्रसाद गुरुङ्ग उच्च अदालतको माननीय न्यायाधिश पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

अधिराज बि.सी.
दिसिनपा–४, सिलगढी डोटी

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी


Tuesday, December 27, 2016

बिम्ब नेपाली साप्ताहिक, मिति २०७३ साल पुष १२ गते मंगलवार


  • भूकम्प प्रतिरोधी घर निर्माण गरौं । सधैंका लागि ढुक्क होऔं ।
  • भूकम्प प्रतिरोधी घर निर्माण गरौं । घर निर्माणमा स्थानीय निर्माण सामग्रीको प्रयोग गरौं । 
  • भूकम्प थेग्ने घर बनाऔं । यसका लागि गाविस र नगरपालिकामा खटिएका प्राविधिकको सल्लाह लिऔं बालबालिका अध्ययन गर्ने विद्यालय, भूकम्पीय क्षति थेग्ने गरी निर्माण गरौं ।

नेपाल सरकार
सूचना तथा सञ्चार मन्त्रालय
सूचना विभाग

मुख्य समाचार 


पोल गाडेको १० वर्षसम्म पनि बिजुली बलेन

बर्षेनी बजेट त छुट्टिन्छ तर कति छुट्टिन्छ भन्ने थाह छैन स्थानीयवासीहरुलाई
‘१० वर्ष भयो हामीले गाउँ बिकास समितिको रकमबाट पोल खरीद गरेर गाडेको, अहिलेसम्म पनि बिद्युतको लाईन तानिएको छैन । कहिलेसम्म बल्छ होला हाम्रो यतातिर बिजुली एक पटक हाकिम सावलाई सोधिदिनु     होला ।’ 
डोटीको लामिखाल गाबिसका पूर्व अध्यक्ष समेत रहेका समाजसेवी गोरखवहादुर रोकायाले २०६४÷०६५ र २०६५÷०६६ सालको गाउँ बिकास समितिको सवै वजेट लगाएर पोल खरीद गरी सवै पोल स्थानीयबासीको श्रमदानमा गाडेको भएपनि हालसम्म बिद्युत प्राधिकरणले लाईन नतानेको भन्दै आक्रोस व्यक्त गरेका छन । उनले कहिलेसम्म बिद्युत बिस्तार हुन्छ, सो को जवाफ चाहिने वताए । 
बारपाटा गाबिस–४ को गोपघाटबाट लामिखाल गाबिसको केन्द्रसम्म बिद्युतीकरण गर्ने भन्दै २०६४ सालमा स्थानीय डम्मरवहादुर सिंहको अध्यक्षतामा बिद्युत उपभोक्ता समिति गठन भएको थियो । समितिले दुई वर्षको गाबिसको वजेट बिद्युतमा खर्च गरेर पोल गाड्यो । केही तार पनि खरीद गरेर तान्यो । स्थानीयबासीहरुले श्रमदान पनि गरे । तर, बिद्युत अहिलेसम्म पनि बलेन । 
‘आफ्नै घरमा बिजुली बलेको हेर्ने रहर थियो’ ८१ बर्षीय एक बृद्धले भने ‘त्यो रहर अव  पुरा होला जस्तो छैन ।’ १० वर्षदेखि आज बल्छ, भोली बल्छ भन्ने मात्रै सुनेका ति बृद्धले अब त अरुले भनेको पनि बिश्वास गर्न छोडिसके । 
दुई वर्षको १३ लाख रुपैयाँ खर्च गरेर ६४ पोल खरीद गरेको र केही जनश्रमदान समेत लगाएर पोल गाड्ने काम उतिबेलै भएको वताउँछन तत्कालीन समितिका सचिव नरवहादुर रोकाया । रोकाया भन्छन् ‘१० वर्ष बित्दा समेत बिद्युत प्राधिकरणले न लाईन तानेको छ न त ट्रान्समिटरको नै व्यवस्था गरेको छ ।’ निर्माण व्यवसायी जितवहादुर खड्काले करीव ६ महिना अघि आफुलाई फोन गरेर दशैंमा जसरी भएपनि बिद्युत बाल्ने हो भनेका भएपनि उनको दशैं अहिलेसम्म नआएको रोकायाले वताए । 
यस क्षेत्रको बिद्युतीकरणको जिम्मेवारी पाएका निर्माण व्यवसायी जितवहादुर खड्का भन्छन् ‘जंगलबाट लाईन तान्नु पर्ने भएका कारण ढिलाई भएको हो ।’ उनले रुख काट्नु पर्ने तर रुख काट्ने अधिकार बिद्युत प्राधिकरणलाई नभएका कारण केही बिबाद आएकोले ढिलाई भएको वताए । यो आर्थिक वर्षभित्र जसरी पनि बिद्युत बल्ने खड्काको भनाई छ । उनले आफु त्यसका लागि प्रयासरत रहेको वताए । ‘सामग्री सवै खरीद गर्ने बिद्युत प्राधिकरणले हो’ खड्काले भने ‘हामीले त पाएको सामग्रीको आधारमा पोल तान्ने र लाईन तान्ने मात्रै हो ।’ उनले धेरै लामो समय भएका कारण यस क्षेत्रमा छिटो बिद्युतीकरण गर्नु पर्ने बिषयमा आफुले पनि आग्रह गरिरहेको वताए ।  
खड्काकै भनाईमा सहमति जनाउँछन नेपाल बिद्युत   प्राधिकरण दिपायल कार्यालयका प्रमुख ललितनारायण चौधरी । उनी भन्छन् ‘लामिखालका लागि बिद्युतको लाईन महादेवस्थानबाट जानु पर्ने थियो तर त्यतिबेला महादेबस्थानमा लाईन नपुगेका कारण गोपघाटबाट लाईन तान्नु भएछ । लाईन तान्नु पर्ने क्षेत्रमा जंगलैजंगल भएका कारण समस्या भएको हो ।’ बिगतमा गाडिएका पोलहरु बाङ्गिएका र लाईन पनि लुज भएको, टुटेको अवस्थामा रहेकाले मर्मत गर्नु पर्ने अवस्था आएको चौधरीले जानकारी दिए । ‘अव धेरै काम छैन लाईनको काम अव करीव करीव पुरा भएको छ’ प्रमुख चौधरीले भने ‘अव ट्रान्समिटर ल्याएर लाईन जोड्नु पर्ने छ  ।’ उनले अहिले प्राधिकरणको कार्यक्रम आई नपुगेको वताउँदै भरसक जेठभित्र नभए असारमा बिजुली बाल्ने प्रयासमा रहेको वताए । 


सम्पादकीय

सेलाएको अभियान

सन २०११ मा डोटी जिल्लाका सवै सरोकारवालाहरुले एक   रणनीतिक पत्र तयार गरे । उक्त रणनीतिक पत्रले डोटी जिल्लालाई सन २०१५ भित्र जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता गरियो । ‘घर घरमा सरसफाईको अभियान, सभ्य नागरिकको पहिचान’ भन्ने नारा सहित ‘खानेपानी, स्वास्थ्य तथा    सरसफाई रणनीतिक योजना, २०११–२०१५’ नाम दिईएको उक्त रणनीतिमा जिल्लालाई खुल्लादिशामुक्त क्षेत्र घोषणा गर्ने कुरा मात्रै थिएन, जिल्लाको खानेपानी, स्वास्थ्य तथा सरसफाईको बिषयमा पनि व्यवस्था गरिएको थियो । उक्त रणनीतिले सवै सरोकारवाला निकायहरुको जिम्मेवारी समेत तोकेको थियो । 
तोकिएको जिम्मेवारी अनुसार काम गर्न गराउन, भए गरेका काम कारवाहीहरुको अनुगमन गर्न र रणनीतिका सवै सरोकार–वालाहरुबीच समन्वय गर्नका लागि स्थानीय बिकास अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति डोटी गठन गरियो । त्यस्तै प्रकारको समिति गाउँ बिकास समितिमा पनि गाबिस सचिव वा सर्वमान्य व्यक्तिको संयोजकत्वमा गठन गर्ने प्राव्धान राखियो । समितिहरु गठन पनि भए, सके अनुसारको काम पनि गरे । 
यति हुँदाहुँदै पनि तोकिएको समयमा जिल्लालाईनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सकिएन । ५० वटै गाउँ बिकास समितिहरु खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसक्दा दिपायल सिलगढी नगरपालिकाको एक वडा मात्रै खुलादिँसामुक्त घोषणा भएपछि सवैले नगरपालिकालाईनै दोष दिनु स्वभाविकै थियो । सवैले नरपालिकाका कारण जिल्लालाई घोषणा गर्ने कार्य ढिलो हुन थालेको प्रतिक्रिया दिँदै आएका थिए । सन २०१५ मा जिल्लालाई खुलादिँशामुक्त क्षेत्र घोषणा गर्ने कार्य नगरपालिकाकै कारण रोकियो भन्ने पनि गरियो । तर, ढिलै भएपनि नगरपालिकाले गत असार ८ गते भव्य रुपमा घोषणा गरिसकेको छ । नगरपालिकाले आफुलाई खुलादिँसामुक्त क्षेत्र घोषणा गरेको ६ महिना बढी बितिसक्दा पनि जिल्ला घोषणा हुने छाँट अहिले पनि देखिएको छैन । 
अधिकांस गाउँ बिकास समिति र दिपायल सिलगढी नगरपालिका पनि शत प्रतिशत शौचालय नवनेरै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरियो । रणनीतिक योजनाका साझेदार केही गैससहरुले पनि उपलव्धी देखाउनु पर्ने भएका कारण निकै हतार गरेर निकै तामझामका साथ घोषणा त गरे तर त्यो घोषणा अनुसारको प्रभाव परेको   देखिदैन । कतिपय गाउँ बिकास समितिहरुलाई जिल्लास्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिले फेरी अनुगमन गरी फेरी घोषणा गर्नु पर्ने अवस्था समेत रहेको छ । 
जे होस्, एकसरो भएपनि ५० गाउँ बिकास समिति र एक नगरपालिका खुला दिँसामुक्त क्षेत्र घोषणा भईसकेका छन तर जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान भने कता कता सेलाएको जस्तो देखिएको छ । सन २०१५ मा त भएन नै तर सन २०१६ मा पनि यो अभियान सफल नहुने निश्चित देखियो । 
यो खुल्ला दिँसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा जिल्लामा कति  रकम खर्च भएको छ, त्यसको हिसाव किताव गर्न सकिएको छैन । प्रत्येक गाबिसमा भोज भतेर गरियो, पञ्चैवाजा वजाईयो । यसरी खर्च गरेर पनि त्यसको उपलव्धी दुई÷चार जनाले भित्तामा झुण्ड्याउनका लागि प्रमाण पत्र वाहेक अरु केही पनि पाएनन् । अहिले अधिकांस क्षेत्रहरुमा खुल्ला दिँसा देखिन्छ । 
जे होस्, यति धेरै रकम खर्च भईसकेपछि जिल्लालाई पनि एकसरो भएपनि खुल्ला दिँसामुक्त घोषणा गरिदिए हुन्थ्यो । तर त्यो अभियाननै पूर्ण रुपमा सेलाएको अवस्थामा छ । यो अभियानलाई अगाडी वढाउनका लागि एक पटक सवै फेरी लाग्नु पर्ने वेला आएको छ ।


थप समाचार 

‘कि उसको श्रीमती होईन भन’ भन्छन्

‘उसैको घरमा बसेकी छौ, कि त हाम्रो पैसा देउ, कि उसको श्रीमती होईन भन, भनेर दिनदिनै साहुँहरु दैलोमा आउँछन, मैले कहाँबाट पैसा दिने ? म उहाँको श्रीमती होईन पनि मैले कसरी भन्ने ?’
सानागाउँ गाबिस–३ रिनकोटकी लक्ष्मीदेवी बिकले अचेल गाउँमा यस्तै कुराको सामना गर्नु परेको छ । चार बर्ष पहिले रोजगारीको लागि भारत गएका बालुसिं बिक उतै हराएपछि लक्ष्मीलाई निकै धौ धौ भएको छ । बाल्यकालदेखिनै रोजगारीका लागि भारत जाने बालु घर वनाउनका लागि चार वर्ष अघि  आएका थिए । उनले घर वनाउँदा स्थानीयहरुबाट ऋण लिए । त्यो ऋण तिर्नका लागि उनले फेरी भारत पस्नु प¥यो । 
२०६९ साल मंसिरमा घरबाट भारतको मुम्बई जान्छु भनेर हिडेका बालु घरबाट निस्केदेखि सम्पर्कमा छैनन् । ‘ऋण लागेको छ, घर बसेर हुँदैन, म उतै गएर नौकरी गर्छु घरमा बालबच्चाको हेरबिचार गर्नु भनेर जानु भएको हो’ उमेरले जम्माजम्मी ३० पुगेकी लक्ष्मी भन्छिन् ‘गएपछि कुनै सम्पर्क छैन ।’ 
१२ वर्षको कलिलो उमेरमै बालुसंग बन्धनमा बाँधिएकी लक्ष्मीका दुई छोरा छन । जेठो छोरा भरत स्थानीय बिद्यालयमा कक्षा ४ मा पढ्दैछ । पढाईमा राम्रो भएपनि गत वर्षको परीक्षाका बेला बिरामी परेका कारण      परीक्षा दिन नपाएर १२ वर्षीय भरत कक्षा ५ मा जान पाएन । कान्छो छोरालाई चार वर्ष मात्रै भयो । ‘यो तीन महिनाको मात्रै थियो उहाँ जाँदा’ कान्छो छोरा सुदर्शनलाई देखाउँदै लक्ष्मी भन्छिन् ‘अहिले यसलाई कसैले “तिम्रो बुवा खै” भनेर सोध्यो भने मरिसक्यो भन्छ ।’ 
घर वनाउँदा ऋण लागेको त थाह छ लक्ष्मीलाई कति ऋण लागेको हो र को को संग ऋण लिएको हो भन्ने कुरा सवै थाह छैन । तर, घरमा साहुँ आएर पैसा माग्छन उनलाई । ‘मलाई थाह छैन, कति ऋण लिएको हो भन्दा “उसको घरमा किन बसेको त ?” भन्छन्’ निन्याउरो अनुहार बनाउदै लक्ष्मीले भनिन् ‘यो घर छोडेर म कहाँ जाउँ ?’
जमिनका नाममा दुई रोपनी मात्रै छ लक्ष्मीसंग । उनी अहिले आफ्नो र छोराहरुको पेट पाल्नका लागि दैनिक ज्याला मजदुरी गर्दै आएकी छिन् । निड्स नेपाल नामक गैरसरकारी संस्थाले उनलाई एक बाख्रो सहयोग      गरेको छ । उनी त्यो बाख्रालाई जीवनको साहरा मान्दैछिन । भारतमै रहेका देवरले छोराहरुलाई लुगाफाटो सहयोग गरिरहेको लक्ष्मी वताउँछिन । श्रीमान सम्पर्कबिहिन भएपछि लक्ष्मीले भारतमा भएका आफन्तहरुलाई फोन गर्दै खोजी गर्न आग्रह त गरिन तर कतैबाट पनि बालुको खवर आएन । 
बाल जस्तै रोजगारीको सिलसिलामा भारत गएका डोटीका युवाहरु भारतमै हराउने गरेका छन । निड्स नेपाल नामक गैर सरकारी संस्थाले जिल्लाका १२ गाबिसमा गरेको अध्ययन अनुसार  ९४ जना सम्पर्कबिहिन छ ।  


सिलाइकटाइबाटै जीविकोपार्जन

रामहरी ओझा÷सिलगढी
     पुष ११
खलोका नाममा थोरै अन्न बाफत सिलाई कटाई गर्दै आएको सुशीलाको परिवार अहिले व्यवसायिक रुपमा सिलाई कटाई गर्न थालेको छ । 
डोटी छतिवन गाबिस–४ निवासी सुशीला नेपालीले अहिले नजिकैको बुडर बजारमा सिलाई कटाई पसल स्थापना गरेर व्यवसायिक रुपमा सिलाई कटाई गरिरहेकी छिन । ‘महिलाहरुको सुट सिलाए वाफत दुई सय रुपैयाँ लिने गरेकी छु’ सुशीला भन्छिन् ‘पुरुषको स–साना बालकहरुमो मात्रै सिलाउन सक्छु ।’ बालकहरुको लुगा सिलेको पनि दुई सय रुपैयाँ नै लिने गरेको सुशीलाकौ भनाई छ । 
सिलाई कटाई व्यवसायबाटै सुशीलाले श्रीमान्, आफु र दुई छोराछोरीको परिवार पालेकी   छन । ‘पहिले आफ्नै घरमा परम्परागत रुपमा सिलाई गरि घरघरमा खलो माग्ने चलन थियो’ सुशीला भन्छिन् ‘मैले पनि सोही परम्परा अन्तर्गत सिलाई कटाई सीप सिके ।’ 
मुक्त हलिया परिवारकी सुशीला गाउँमा गठन भएको भिमदक्त मुक्त हलिया समूहमा सदस्य छिन । मुक्त हलियाको तथ्याङ्क संकलनका क्रममा नाम छुटेकाले उनको परिवारले पाएन । तर, उनी समूहमा भने सक्रिय छिन । 
घरमै सिलाई कटाई गर्दै आएकी सुशीलाले २०७० साल बैशाख १० गते छतिवन गाबिस–४, बुडरमा व्यवसायिक सिलाई कटाई सुरुवात गरिन । उनी भन्छिन् ‘दैनिक दुई जोर महिलाका सुट सिलाउँछु, यसवाट चार सय दैनिक आउँछ ।’ इन्टरलक मेशिन नभएका कारण उनले सुरु सुरुमा बजारमा काम पाईनन् । तर पनि उनी सानोतिनो काममा लागिरहिन । ‘ईन्टरलक मेशिन किन्नका लागि पैसा थिएन’ सुशीला भन्छिन् ‘ग्रहाक आएर तपाइको सिलाई त राम्रो छ तर ईन्टरलक भैन भनेर फर्केर जान्थे ।’ 
सुशीलालाई आधुनिक रुपमा व्यवसाय सञ्चालन गर्न राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले गते जेठ १० गते इन्टरलक मेशिन उपल्ब्ध गरायो । सुशीला भन्छिन् ‘राष्ट्रिय मुक्त हलिया समाज डोटीले ईन्टरलक मेशिन सहयोग गरेपछि मलाई व्यवसाय गर्न अझ सहज भयो ।’ उनी राष्ट्रिय मुक्त हलिया समाजलाई धन्यवाद पनि दिन्छिन् ।
सुशीलाले सलाई कटाई व्यवसायबोट घर परिवारलाई खान र बालबच्चालाई नीजि बिद्यालयमा पढाउने गरिरहेकी छिन् । परम्परागत सीपलाई व्यवसायीकरण गर्दै गए जीवन धान्न सजह हुने उनी    बताउँछिन ।

कालोपत्रे हुँदै डोटी बिमानस्थल

लामो समयदेखि चर्चा र बिबादमा रहेको डोटी बिमानस्थल कालोपत्रे हुन सुरु भएको छ । 
शान्ति प्रक्रिया सुरु भएसंगै गौचरनमा परिणत भएको विमानस्थलको कालोपत्रे गर्नका लागि असारमा भएको टेन्डर अनुसार कात्र्तिकमा सम्झौता भएपछि निर्माण कम्पनीले बिमानस्थल कालोपत्रेको कार्य अगाडी बढाएको हो । नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले दिएको जानकारी अनुसार विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान डोटी ल्याउने कार्य  भइरहेको छ । रेग्मीले भने ‘कालोपत्रे गर्नका लागी गिट्टी धेरै आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ ।’ विमानस्थल कालोपत्रको काम द्रुतगतिमा अगाडि बढ्ने रेग्मीले बताए । 
बिमानस्थल कालोपत्रे गर्ने कार्यको ईन्चार्जको जिम्मेवारी समेत पाएका रेग्मीले सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्रेको ठेक्का पाएको वताए । कालोपत्रेमा पाँच करोड ५० लाख रुपैयाँको रकम खर्च हुने विमानस्थल कालोपत्रका अधिकृत रेग्मीले बताए । उनका अनुसार कालोपत्रे गर्ने कार्य १५ महिनाभित्रै सकिने छ । 
बिमानस्थल सञ्चालन, मर्मत र  स्तरोन्नतीका लागि गएको बर्षभरी  अनेकथरी टिकाटिप्पणी भएका थिए । बिमानस्थलको स्तरोन्नती गर्ने कार्य प्रारम्भ भएपनि बिमान चल्ने नचल्ने बिषयमा भने अहिलेसम्म पनि कुनै टुङ्गो छैन ।


गाउँगाउँमा परिवार नियोजन सेवा

नरी बडु÷बैतडी
  पुष ११
बैतडी जिल्लाको दुई ठाँउबाट मात्रै दिईने परिवार नियोजन सेवा शिविर मार्फत गाँउ–गाँउमा दिन थालिएको छ ।
स्थानीय महिलाहरुलाई लक्षित गरि परिवार नियोजन अन्र्तगतको मिनिल्याप सेवा जिल्लाको दुर्गमका गाँउमा दिन थालिएको हो । आईतबार जिल्लाको दुर्गम पुचौँडी क्षेत्रमा पर्ने कुवाकोट गाविसमा परिवार नियोजनको स्थानी बन्ध्याकरण मिनिल्याप सेवा दिईएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन     सुपरभाईजर दिल्लीरमन जोशीले बताए ।
जोशीका अनुसार उक्त परिवार नियोजन सिविरबाट कुवाकोट, भुमिराज र भटनना गविसका ३४ जना महिलाहरुले स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिएका छन् । जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले शिविरमार्फत उक्त सेवा गाँउमै दिएका हुन् । कुवाकोट गाविसमा स्थानीय शिक्षिका, तीन ओटा छोरीमात्रै भएका महिला लगायतले सेवा लिएका छन् । मंगलवार जिल्लाको च्वागड क्षेत्रमा पर्ने गाँजरी गाविसमा स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको सुपरभाईजर जोशीले जानकारी दिए । गाँजरी गाविसमा सञ्चालन हुने शिविरमार्फत २५ देखि ३० जना महिलाले सेवा लिने विश्वास गरिएको गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनकसिं धामीले बताए । सन्तानको रहर पुगेका महिलाहरुले शिविरबाट परिवार नियोजन सेवा लिन सक्ने धामीको भनाई छ । 
स्थानीयको माग अनुसार जिल्लाको अन्य क्षेत्रमा पनि परिवार नियोजनको शिविर आयोजना गरिने सुपरभाइजर जोशीले  बताए । मिनिल्याप शिविरमार्फत निशुल्क गरिने र मिनिल्याप गर्ने महिलालाई स्थानीय यातायात वाफत दुई सय ५० रुपैयाँ समेत दिने गरिएको जोशीको भनाई छ । 
सन्तानको रहर पुगेका महिला अथवा पुरुषले व्यवस्थित एवं सुखि परिवारको लागि परिवार नियोजन गर्न अति आवश्यक रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीको भनाई छ । 
शिविर बाहेक जिल्ला अस्पताल बैतडीमा पुरुष र महिला दुबैको र जिल्लाको पाटन नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुरु बन्ध्याकरण सेवा मात्रै उपलब्ध छ । 


के बीको सामाजिक सुरक्षा

आफ्नो नीजि व्यापारका साथसाथै सामाजिक सेवामा पनि सक्रिय रहेका के बि स्टिल दिपायलका सञ्चालक खगेन्द्र साउँदले एक अर्को सामाजिक कार्य गरेका छन । 
सोमवार उनले अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा बितरण गरेका हुन । दिपायल सिलगढी नगरपालिकाको कार्यालयको सिफारिसमा एक सय ११ जनालाई न्यानो लुगा बितरण गरिएको साउँदले वताए । ‘प्रत्येकलाई करीव एक हजार दुई सय रुपैयाँ बराबरको सामग्री बितरण गरिएको छ’ साउँदले भने ‘उहाँहरुलाई कम्मल, जाकेट, टि सर्ट बितरण गरिएको छ ।’
डोटीको दिपायल पिपल्ला बजारमा के बि ईलेक्ट्रोनिक्स एण्ड सप्लायर्स र के बि स्टिल एण्ड फर्निचर व्यबसाय सञ्चालन गर्दै आएका साउँदले सम्मान पाउने व्यक्तिहरुलाई गाडी भाडा समेत प्रदान गरेका थिए । उनले भने ‘गाडी चढेर आउनेहरुलाई जनही एक सय रुपैयाँका दरले गाडी भाडा पनि उपलव्ध गराईएको थियो । 
असहाय, अपाङ्गता भएका व्यक्तिहरु र एकल महिलाहरुलाई बिभिन्न सामाजिक संघसंस्थाहरुले सहयोग गरिरहेको भएपनि नीजि क्षेत्रबाट यसरी सहयोग भएको यो पहिलो सुरुवात हो । साउँदले यस अघि नगरको फोहर व्यवस्थापन लगायत अन्य सामाजिक सेवाका काममा पनि सहयोग गर्दै आएका छन । 
‘समाज सेवा गर्नु मेरो कर्तव्य हो’ के बि भन्छन् ‘सवैले आ–आफ्नो ठाउँबाट सक्ने जति सामाजिक सेवा गर्ने हो भने हामीले अरुको मुख ताकिराख्नु पर्ने जरुरी हुदैन ।’ उनी समाज सेवामा आफु निरन्तर रुपमा लागि रहने वताउँदै भन्छन् ‘आफ्नो व्यवसायका साथसाथै समाज सेवा गर्न पाए मलाई सन्तुष्टि मिल्छ ।’


राप्रपाको आमसभा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरमा बिशाल आमसभा गर्ने भएको छ । 
यही पुष १७ गते महेन्द्रनगरमा आयोजना गर्न लागिएको आमसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्वोधन गर्ने राप्रपा कञ्चनपुरले जानकारी दिएको छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल एकिकरण भएपछि आगामी फागुन ६, ७, ८ र ९ गते काठमाण्डौंमा हुने महाधिवेशनको पूर्व तयारी स्वरुप आमसभा गर्न लागिएको राप्रपा कञ्चनपुरले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 
यस्तै पुस १८ गते प्रदेश नं.७ का सम्पूर्ण केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष लाई एक दिने कार्यकर्ता प्रशिक्षण रहेको   पत्रकार सम्मेलनमा जानकारी गराईयो । 
पत्रकार सम्मेलनमा बोल्दै पार्टी जिल्ला अध्यक्ष पतिराम चुनाराले भने ‘पार्टी एकताले कार्यकर्तामा ठुलो हौसला, उर्जा थपेको छ, पुस १७ गते हुने आमसभामा पार्टी अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय अध्यक्ष पशुपति शम्सेरले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।’ आमसभामार्फत पार्टीको आगामी रणनीति र एजेण्डा जनता सामु प्रस्तुत गर्ने केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभागका  हेमबाबु लेखकले जानकारी दिए ।
हिन्दु राज्य, सम्वैधानिक राजतन्त्र र संघीयताको बिषयमा जनमत संग्रहको माग गर्दै आएको राप्रपा थप सक्रिय बन्दै छ ।


कांग्रेस पनि गाउँ जागरण अभियानमा  

एमाले र राष्ट्रिय जनमोर्चा गाउँ अभियानमै छन

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संगठन बिस्तारका लागि गाउँ पसेका बेला बर्तमान सरकारको प्रमुख घटक नेपाली कांग्रेस डोटी पनि “गाउँ जागरण अभियान” का लागि गाउँ पसेको   छ ।
नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले दिएको जानकारी अनुसार देशको समसामयिक परिस्थितिका बारेमा जानकारी गराउने र संगठन बिस्तार गर्ने अभियानको उद्देश्य रहेको छ । बिम्ब साप्ताहिकसंग टेलिफोनमा कुरा गर्दै सभापति देउवाले भने ‘स्थानीय तहको नयाँ संरचनाको बिषयमा पनि कार्यकर्ताहरुकाबीचमा छलफल चलाउँदैछौं ।’ 
स्थानीय निकायका परिषद्हरु भएका कारण केही समय अभियानलाई स्थगित गर्नु पर्ने अवस्था आएको वताउँदै देउवाले स्थानीय निकायका  परिषद्पछि नियमित रुपमा अभियानहरु सञ्चालन हुने वताए । उनले अव हुने निर्वाचनका लागि कार्यकर्ताहरुलाई तयार रहन समेत यो अभियानले फलदायी हुने वताए । बाँझककानी गाबिसको भेला र इलाका–६ को ईलाकास्तरीय भेलाका साथै नग–रपालिकाका केही वडाहरुमा वडा भेला समेत सम्पन्न भएका देउवाले जानकारी दिए । 
उता चार महिना लामो अभियान बनाएर गाउँ पसेको एमालेले डोटी क्षेत्र–२ का १७ गाउँ बिकास समितिमा भेला, अधिवेशन सम्पन्न गरेको एमाले डोटीका सदस्य धनवहादुर नेपालीले जानकारी दिए । नेपालीका अनुसार अभियान हालसम्मको अभियान उत्साहजनक रहेको छ । चार महिने मुल अभियानलाई सफल पार्नका लागि ईलाका ३ र ४ मा ईलाकास्तरीय भेला पनि सम्पन्न भएका ईलाका ३ का ईन्चार्ज समेत रहेका नेपालीले जानकारी दिए । भेलाले ईलाकास्तरमा मुल अभियान सम्पन्न गर्नका लागि कार्ययोजना वनाएको उनले   बताए । 
बर्तमान राजनीतिक अवस्था, पार्टी संगठन बिस्तार तथा कार्यकर्ता प्रशिक्षण, सदस्यता नबिकरण र नयाँ सदस्यता प्रदान र अव हुने भनिएको स्थानीय निकायको निर्वाचनको व्यापक तयारी गर्नका लागि गाउँ पसेको एमालेले चैत्रमा आफ्नो अभियान सम्पन्न गर्ने जिल्ला सदस्य नेपालीले वताए । 
यस्तै अर्को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चा पनि गाउँ अभियानमा रहेको छ । अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनका लागि बार्षिक कार्यक्रममा साथ गाउँ पसेको राष्ट्रिय जनमोर्चा डोटी सरकारले संसदमा पेश   गरेको संबिधानको संसोधन प्रस्तावको बिरोधमा गाउँ गाउँमा अभियान सञ्चालन गरिहेको सो पार्टीका जिल्ला सचिव केशवनाथ योगीले जानकारी दिए । 
योगीका अनुसार राष्ट्रिय जनमोर्चाले गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण, भेला, अधिबेशन, संगठन सुदृढीकरणको अभियान सञ्चालन गरेको छ । अभियानमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, अर्का केन्द्रीय सदस्य एवं डोटी जिल्ला अध्यक्ष बेणीमाधव जोशी, पार्टीका अन्य नेताहरु, बिद्यार्थी नेताहरु, जनबर्गीय संगठनका नेताहरु लगायत परिचालन भईरहेका सचिव योगीले जानकारी दिए ।  

कृषकहरुलाई मोबाईल

कृषि सूचना प्रणाली मार्फत किसानलाई जलवायु मैत्री बनाउन डोटीका कृषकहरुलाई सरकारले मोवाइल वितरण गर्ने भएको छ । 
किसानलाई जलवायु मैत्री बनाउन डोटीमा मोबाइल वितरण गरिने भएको हो । जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषकहरुलाई मोवाईल बितरण गर्न लागिएको आयोजनाका निर्देशक बिष्णुप्रसाद घिमिरेले जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयको समन्वयमा  उक्त परियोजना डोटीमा लागु हुन गइरहेको सरोकारवालालाई जानकारी गराइएको छ । 
किसानलाई सूचना प्रणालीमा सहज पहुँच पु¥याउन मोबाइल वितरण गर्न लागिएको निर्देशक विष्णुप्रसाद घिमिरेले वताए । 
‘जिल्ला कृषि बिकास कार्यालय र पशु सेवा कार्यालयको सिफारिसमा कृषकहरुको समूहमा मोबाइल वितरण गरिनेछ’ घिमिरेले भने ‘बितरण गरिएका मोबाइलमा हाम्रो कृषि एप्लिकेशन सुरु गरिने छ । उनले आफुहरुले वितरण गरेका मोवाइलमा मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधि, कार्यालयका सम्पर्क नम्बरबारे किसानहरुले जानकारी पाउने वताए । जलबायुमैत्री सूचना प्रणालीबाट किसानलाई थुप्रै खालका फाइदा हुने घिमिरेको दावी छ । किसानका जिज्ञासा मेट्ने, एसएमएस पठाउने, साप्ताहिक बुलेटिने पठाउने ब्यवस्था रहेको समेत घिमिरेको दावी छ ।

प्रधानमन्त्री आधुनिक कृषि योजना सुरु

जिल्ला कृषि बिकास कार्यालय डोटीले डोटीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको जानकारी गराएको छ । 
गत बुधवार जिल्ला बिकास समिति डोटीमा आयोजना गरिएको एक कार्यक्रममा डोटी जिल्ला उक्त परियोजना लागु भएको जानकारी गराईयो । परियोजना अन्तरगत देशभरीमा सुपरजोन, जोन, ब्लक र पकेट गरी चारबटा क्षेत्रमा काम हुने भएपनि डोटीमा पकेट र ब्लकमा मात्रै काम हुने जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि बिकास अधिकृत डा. तपेन्द्र शाहीले जानकारी दिए । 
‘१५ वटा पकेट र दुई वटा ब्लकमा काम हुने छ’ शाहीले भने ‘ब्लकका लागि हामीले डौड तोलेनी वा घण्टेश्वर छतिवन क्षेत्रलाई सम्भावना मानेका छौं । उनले आलुको ब्लक बनाउने योजना रहेको समेत जानकारी गराए । 
स्थानीय बिकास अधिकारी कृष्ण गौतमको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्य प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले गरेका थिए ।  

छोटकरी समाचार 

परिषद् सम्पन्न

बासुदेवी गाउँ बिकास समितिको २५ औं गाउँ परिषद् सोमवार सम्पन्न भएको छ । उक्त परिषद्को उद्घाटन नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले गरेका हुन । 
सहलेखापाल डम्मर भट्टका अनुसार परिषद्ले कुल एक  करोड, १० लाख, ३६ हजार, चार सय रुपैयाँ बराबरको अनुमानित आय व्यय बिवरण पारित गरेको छ । जस अनुसार सञ्चालनतर्फ पाँच लाख ४५ हजार, पूजीगततर्फ ३० लाख ६२ हजार, सामाजिक सुरक्षातर्फ ६२ लाख, आठ हजार, आठ सय, बाल पोषणतर्फ ११ लाख, ८५ हजार, ६ सय र मालपोत तथा अन्यतर्फ ३५ हजार रहेको छ । 
यस वर्ष गाउँ परिषद् सम्पन्न गर्ने बासुदेवी गाबिस पहिलो हो ।

हाट बजार लाग्ने

डोटीका दुई ठाउँमा हाट बजार सञ्चालन हुने भएको छ । 
सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको अग्रसरता रजिल्ला कृषि बिकास कार्यालयको व्यवस्थापनमा सञ्चालन गर्न लागिएको हाट बजारको औपचा–रिक सुरुवात पुष २३ गते राजपुरबाट हुनेछ । कृषक समूह महासंघ डोटीका अध्यक्ष भरत बोहराले दिएको जानकारी अनुसार २५ गते सिलगढी टुडिखेलमा हाट बजारको आयोजना गरिनेछ । 
यसपछि सिलगढीमा प्रत्येक शनिवार र राजपुरमा प्रत्येक महिनाको १० र २५ गते हाट बजार सञ्चालन गर्ने गरी तयारी भईरहेको  बोहराले जानकारी दिए । उनले कृषकहरुलाई आप्नो उत्पादन हाट बजारमा ल्याउन समेत आग्रह गरे ।

चलचित्र मनोरञ्जन 

मुसहर बस्तीका लागि ४० लाख

एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि लुरेन्स कन्ट्रक्टिङ्ग एण्ड जेनेरल क्लिनिङ्ग कम्पनीको तर्फबाट ४० लाख रुपैयाँ प्रदान गरिएको छ ।
आठ वर्षदेखि कतारमा लुरेन्स कन्ट्रक्टिङ्ग एण्ड जेनेरल क्लिनिङ्ग कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । हाँस्य कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरे नेफ्टा अवार्डमा सहभागी हुन जाने खवर पाएपछि कोईराला सहयोग हस्तान्तरण गर्न दुवई पुगेका थिए । 
तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग हस्तान्तरण गर्दै कोईरालाले धुर्मुस सुन्तलीलाई यस अघि गरेको सहयोग खेर नगएकोले तेश्रो बस्ती निर्माणका लागि पाँच वटा घरको लागत बराबरको रकम हस्तान्तरण गरेको वताए । उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र तीन लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । 
आफुले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफुले सकेको सहयोग गरेको उनको भनाई छ । काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । 

नेफ्टा स्वर्णिम अवार्ड आमालाई

एजेन्सी
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले ५० बर्ष पहिले निर्माण भएको नेपाली कथानक चलचित्र ‘आमा’ नाई नवौं नेफ्टा स्वर्णिम अवार्ड प्रदान गरेको छ ।
नेफ्टाले युएईमा आयोजना गरेको नवौं नेफ्टा अवार्डमा पहिलो नेपाली कथानक चलचित्र आमामा अभिनय गर्ने तीन आमाहरुलाई नेफ्टा स्वार्णीम अवार्डले सम्मान गरेको हो । चलचित्र ‘आमामा अभिनय गरेको ५० वर्षपछिसम्म पनि चलचित्र क्षेत्रमा योगदान पु¥याउँदै आएका कलाकारहरु भुवन चन्द थापा, चैत्यदेबी सिंह र बसुन्धरा भुसाल नेफ्टा स्वार्णीम अवार्ड सम्मानित भएका हुन ।
यस्तै नेफ्टा अवार्डमा नायक दयाहाङ राई र नायिक नम्रता श्रेष्ठले उत्कृट नायक नायिक अवार्ड हात पारेका छन् । कबड्डी कबड्डीबाट राईले उत्कृट नायकको तथा नम्रताले क्यासिकबाट उत्कृट नायिकाको अवार्ड हात पारेका हुन् । चलचित्र पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । 
कार्यक्रममा विगत ३६ वर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा पर्दा बाहिर बसेर नेपाली कलाकारहरुलाई खाना बनाउने कुल बहादुर महत  जेठा दाई (भान्छा) र स्थल सहयोगी आनन्द बहादुर मगर (नन्दु)  दाईलाई जनही २५ हजार सहित लाइभ टाइम अचिभमेन्टको अवार्डले सम्मान    गरिएको थियो । 
त्यस्तै भूकम्पपछि राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएकोमा सिताराम कट्टेल  (धुर्मुस) कुन्जना घिमिरे (सुन्तलि) लाई पृथक योगदान अवार्डले सम्मान गरेको छ । छक्का पन्जाको सफल निर्देशक दिपाश्री निरौलालाई प्रोत्साहन सम्मान गरेको छ भने शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई नेफ्टाले सम्मान गरेको छ ।
यस्तै उत्कृष्ट निर्देशक उज्वल  घिमिरे, उत्कृष्ट कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, उत्कृष्ट पटकथामा सुवर्ण थापा, उत्कृष्ट संवादमा खगेन्द्र लामिछाने,  उत्कृष्ट श्रृंगार र केश विन्यास दीपु पौडेल र उत्कृष्ट कस्ट्युम डिजाइनरमा युबी थापाले अवार्ड जितेका छन । उत्कृष्ट ध्वनी मिश्रणमा उत्तम न्यौपाने, उत्कृष्ट कला निर्देशक पासाङ टी शेर्पा, उत्कृष्ट द्वन्द्व निर्देशकमा हिमाल केसी, उत्कृष्ट पाश्र्वध्वनीमा सुजिल कर्माचार्य र उत्कृष्ट हाँस्य अभिनेतामा विल्सनविक्रम राईलाई सम्मान गरिएको छ । 

खेल समाचार 

मन्त्री ज्यू, प्रशिक्षक चाहियो

‘मन्त्रीज्यू हामीलाई प्रशिक्षकको व्यवस्था गरिदिनुस, नत्र त कसरी खेल्नु ?’ 
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जुडो खेल्ने क्रममा घाइते भएका कमानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुगेका युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीलाई घाईते खेलाडी कमानसिंह बिष्टले यस्तो आग्रह गरेपनि मन्त्री अक्क न बक्क भए । ‘दिजोज्यान लगाएर खेल्नुहोस, हामी तपाईको साथमा छौं’ घाईते खेलाडीलाई ढाडस दिँदै मन्त्री श्रीपाईली के बोलेका थिए जवाफमा खेलाडी बिष्टले ‘प्रशिक्षकनै नभई कसरी खेल्ने ?’ भनी प्रश्न गरे । 
घाईते खेलाडीको प्रश्नपछि मन्त्री श्रीपाइलीले चाँडै नै देशभरि विभिन्न खेलका लागि प्रशिक्षकको व्यवस्था गरिने आश्वासन दिए । उनले खेलाडीका लागि स्वास्थ्य बिमा र भत्ताको व्यवस्था गरिएको बताए । घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने समेत मन्त्रीले घोषणा गरे । 
विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेकाले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिइएको वताउँदै मन्त्री श्रीपाइलीले अब दुर्गम जिल्लामा पनि प्रशिक्षकको व्यवस्था गरिने बिश्वास   दिलाए ।

भुटान बिरुद्ध नेपालको जित

ई–कान्तिपुर
भारतको सिलिगुडीमा सोमबारबाट सुरु भएको चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ८–० गोलको फराकिलो जित हात पारेको छ । भुटानले निर्धारित समयसम्म सान्त्वना गोल समेत फर्काएन ।
नेपालको जितमा फरवार्ड सावित्रा भण्डारी नायक बनिन् । उनले दोहोरो ह्याट्रिक गरिन् । एकै खेलमा नेपाली खेलाडीले गरेको सर्वाधिक गोल हो । बाँकी दुई गोल शर्मिला थापा र कृष्णा खत्रीले गरे ।
सावित्रा भण्डारीले ५, ९, २३, ३५, ७२ र ७८ औं मिनेटमा गोल गरिन् । शर्मिला थापाले २५ औं मिनेटमा र खत्रीले ९० औं मिनेटमा  गोल गरेकी  थिइन् । 

लेख 

गन्तव्य बिहिन मोफसल पत्रकारितामा महिला पत्रकार

सबिता जिसी÷सुर्खेत
बिहान उठ्यो, कतिबेला कताबाट फोन आउँछ र कार्यक्रममा जानु पर्ने हो भन्ने कुराले मनमा चस्का       दिईरहन्छ । यदि बिहान फोन आएन भने खाना खाएर अफिस जाने समय हुन्छ । अनि रेडियोमा कार्यरत भए त बिहानको डिउटी भएमा बिहानैका न्युज बुलेटिन गर्नु   पर्ने । खाजा र खाना कतिबेला हुने हो कुनै फिक्स छैन । घण्टा घण्टामा बुलेटिन अनि कार्यक्रम सक्दासम्म समय बितेको पत्तो नै हुँदैन । जनशक्तिको अभावमा गुज्रीएका जिल्लाका सञ्चार माध्यमहरु । अनि तिनै सञ्चारमाध्यममा कामको चापले पेलिएका हामी पत्रकार । 
आज सञ्चो छैन, आज आफन्तकोमा बिहे छ भनेर अफिसमा बिदाको लागि कुरा गर्दा उल्टै अफिसबाट अपमानित भईएला भन्ने डर । कडा डिउटी र दिनभरको थकाईले पिडामा परेको समयमा कसैले आफ्नो पेशाका बारेमा अलिकति पनि नराम्रो बोल्दियो भने त कम्ता मन दुख्दैन् र ?
अफिस पुग्यो, हाजिर ग¥यो । आजका लागि के न्युज लेख्ने भन्ने कुराले मनमा डेरा जमाउन थाल्छ । अनि न्युजको खोजीमा, गन्तव्यबिहिन तरिकाले हिड्यो । यस्तै गन्त्वय बिहिन बनेको छ मोफसलको पत्रकारिता । कम जनशक्ति । रिपोटिङ्ग देखि लिएर डेस्कमा आएका समाचारलाई फिल्टर गर्नु, पत्रकार सम्मेलन देखि बस दुर्घटना सम्म, शिक्षा, स्वास्थ्य, कृषि सबै क्षेत्रलाई समेटेर एउटा दैनिक पत्रिकाका लागि एकजना पत्रकारले रिपोटिङ्ग गर्नु पर्ने बाध्यता । 
साँझमा घरका जहानले एक निन्द्रा पुराईसक्दा पनि कहिलेकाँहि नसकिने अफिसको काम । खाजा खाने फुर्सद सम्म पनि नभएको दिन अनि साँझ घरमा गएर चिसो खाना हुँदा कम्ता नमजा लाग्दैन । 
चुनौति र सम्भावनाले भरिएको क्षेत्र पत्रकारिता । त्यसमाथि पनि महिलाका लागि झनै चुनौतिपूर्ण ।  
पत्रकारितामा पारिश्रमिक देखि लिएर सुरक्षासम्मका विषयले गर्दा पत्रकारितामा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । 
पत्रकारिता पेशा निकै चुनौतीपूर्ण छ । यो पेशा महिलाहरूका लागि मात्रै हैन पुरुषका लागि पनि त्यत्ति नै चुनौतीपूर्ण छ । तर पनि पत्रकारिता सुरु गरेदेखि हालसम्म बटुलेका अनुभवहरुको आधारमा भन्ने हो भने महिला र पुरुषले सामना गर्नुपर्ने चुनौती पनि फरकफरक छन् भनेर भन्न सक्ने अवस्था छ । 
एकजना पुरुष पत्रकारले आर्थिक र भौतिक  असुरक्षा सामना गर्नु परेको छ भने, महिला पत्रकारले यसका साथै सामाजिक असुरक्षाको समेत सामना गर्नु पर्ने बाध्यता रहेको छ । 
पहाडी जिल्लामा म पत्रकारितामा राम्रो काम गरेर अघि बढ्छु भन्ने महिला पत्रकार कमै भेटिन्छन् । भएका पनि रेडियोमा कार्यक्रम चलाउने बढी भेटिन्छन् । जसले गर्दा पत्रकारितामा महिलाहरु कम छन् र भएकाहरु पनि धरै लामो समयसम्म टिक्दैनन् । 
एउटा बिडम्बनाको कुरा के छ भने समाचारमा कामै नगरेको भएपनि पुरुषलाई समाचार प्रमुखको जिम्मेवा–री दिईन्छ तर समाचारमै काम गरेको महिला भएपनि उसलाई समाचार प्रमुखको जिम्मेवारी दिन अलि कन्जुस्याई गरिन्छ । 
अनि कार्यक्रममा पनि अवस्था उहि हो जसलाई कार्यक्रम सञ्चालनको कुनै आईडिया हुँदैन, उसको पद हुन्छ कार्यक्रम प्रमुख अनि वर्षौदेखि कार्यक्रम उत्पादन र प्रशारणमा काम गरिरहेको महिलालाई कार्यक्रम प्रमुखको जिम्मेवारी दिन कन्जुस्याई गर्छ सञ्चारमाध्यम । हरेक क्षेत्रबाट महिला पत्रकार सक्षम भएपनि महिला पत्रकारलाई स्थान दिईदैन । यहाँ सक्षम महिला पत्रकारको पनि कुनैकुनै अवस्थामा पद नहुँदा कताकता आत्मालोचना गर्न मन लाग्छ । कतिपय अवस्थामा अधिकार माग्ने महिलाहरुमा त्यति क्षमता नहोला तर पनि कुनै व्यक्तिले क्षमता नभई अधिकार माग्ने आँट गर्दैन । 
वर्तमान समयमा पनि अधिकांस महिला पत्रकारहरु आफ्नो कार्यक्षेत्रमा खुलेर लाग्न सक्ने अवस्था छैन् । मिडियामा काम गर्ने समयका चुनौति देखि पारिश्रमिक सम्मका कुराहरुले गर्दा पत्रकारिता क्षेत्रमा महिलाहरु पुरुषको तुलनामा निकै पछाडि र कम छन् । 
हामी पत्रकारितामा बहस गर्छौं, पत्रकारितामा महिलाको उपस्थिति न्यून भयो, क्षमतावान हुन सकेनौं तर हामी यो कुरा सोच्दैनौ कि पत्रकार महिलाहरुको क्षमता किन कम भयो त ? किन महिलाहरु पत्रकारिता कम हुन्छन् ? पत्रकारितामा धेरै समय किन टिक्दैनन् ? हामी बहस गरेर सकारात्मक अभियान चाल्नुको साटो पत्रकारितामा आएका महिलाहरुलाई उत्प्रेरणा दिने आँटसम्म पनि गर्दैनौं । 
राज्यको चौथो अंग मानिने पत्रकारिताका क्षेत्रमा महिला पत्रकारहरु पेसामा लागेको केहि समयपछि नै पलायन हुन्छन् । किन महिलाहरु पृुरुषको तुलनामा दिर्घकालसम्म यस पेशामा रहन सक्दैनन् ? यो एक गम्भिर प्रश्न बनेर नेपाली पत्रकारिता क्षेत्रको वरीपरी घुमिरहेको छ ।
हामी ठुलो जोस र आँट लिएर पत्रकारितामा प्रवेश गर्छौं, तर पनि विचैमा आउने विविध समस्याहरुले गर्दा पत्रकारिताको क्षेत्रमा केही समय पश्चात नै पेशा छोड्ने अवस्था सृजना भईदिन्छ । यो एकदमै बहसको विषय बनेको छ । हामीले महिला पत्रकार भएको नाताले छुट्टै मानसम्मान खोजेका छैनौँ । खोजेका छौ त केवल आत्मसम्मान अनि पुरुष पत्रकार दाजुभाई माझ समान रुपमा काम गर्ने वातावरण । 
सुर्खेतको सन्दर्भमा कुरा गर्ने हो भने ११ वटा दैनिक पकिा, ३ वटा साप्ताहिक पत्रिका, अनि ५ वटा अनलाईन पत्रिका र ६ वटा रेडियो सञ्चालनमा छन् । तर विडम्वनाको कुरा रिपोटिंङ्गमा हिड्ने अनि समाचार लेख्ने महिलाहरुको संख्या औलामा गन्न सकिने अवस्था छ । 
पत्रकारितामा महिलाहरु नआउने अनि आईहाले पनि रेडियोमा आकर्षित हुने गरेकाले पनि सुर्खेतको पत्रकारिता महिलाहरुको संख्या पुरुषको तुलनामा कम छ । पछिल्लो समयमा रेडियोमा बोल्नको लागि मात्र महिला पत्रकारको प्रवेश भएको पाईन्छ । रेडियोमा पनि महिला पत्रकारहरु कार्यक्रमप्रति बढि नै आकर्षित छन् । कार्यक्रममा पनि विकासे कार्यक्रम चलाउनु भन्दा पनि मनोरञ्जानात्मक कार्यक्रम चलाउनेमा महिला पत्रकारहरुको संख्या बाक्लो देखिन्छ । यसले गर्दा पनि समाचार लेख्ने महिला पत्रकार पाउन गा¥हो छ । 
यदि कुनै पनि पत्रकारले समाचार लेखनलाई       निरन्तरता दियो भने उ पत्रकारितामा टिकिरहन सक्छ । हामी दिनहुँ जसो समाजलाई लैङ्गिक विभेद रहित निर्माण गर्नका लागि लागिरहेका छौँ तर पत्रकारका संघसंगठनमा विभेद गरिएको कस्ले देख्ने ? 
हामी कुनै पनि संगठनमा सहसचिव र कोषाध्यक्ष पदमा मात्रै महिलाहरुलाई राखियो भने त्यस्तो विरुद्धमा खुलेरै लेख्छौं, बोल्छौं तर हाम्रा संगठनमा लैंङ्गिक विभेद भएको कस्ले देख्ने । संगठनमा समानता कायम गर्नेका नाममा संगठनको सहसचिव र कोषाध्यक्षमा मै महिला पत्रकारलाई सिमित गरिएको विषय कस्ले देख्ने ? 
क्षमता र दक्षताको आधारमा पत्रकार महिलालाई अवसर दिँदैँ जाने र सञ्चारगृह महिलामैत्री बन्ने हो भने अहिलेको अवस्थामा पत्रकार महिलाले भोग्दै आएका समस्याहरुमा न्यूनिकरण हुनेछ । बिडम्बना के छ भने,    रिपोटिंङ्गमा पुरुष दाजुभाईहरुसँग हिड्दा पनि समाजको नजरमा त्यो, नकारात्मक भएर आईदिन्छ । जसले गर्दा हामी महिला पत्रकारको ईज्जत माथि नै प्रश्न पनि उठ्न बेर लाउँदैन ।
पुरुष पत्रकारहरु समन्वय गर्दा वा समाचार संकलनका लागिसँगै हिड्दा पनि समाजले कुरा काट्ने  गरेका कारण आफ्नो पेशाप्रति हिनतावोध भएर आउने गरेको छ । जसका कारण महिला पत्रकार पत्रकारिता पेशाबाटनै पछि हट्ने अवस्था छ । आफुले काम गरिरहेको सञ्चारमाध्यमले सन्तोषजनक पारिश्रमिक नदिनु अनि दिने भनेर तोकिएको तलब पनि समयमा नदिनु सञ्चार क्षेत्रको अर्को ठूलो समस्या हो ।
अहिलेको महंगीको समयमा पारिश्रमिक समयमै नपाउनु सम्पूर्ण पत्रकारको विडम्वनाको कुरा हो । त्यसमाथि पनि महिला पत्रकारहरु त विवाहपछि पलायन नै हुने गरेका छन् । विवाहित महिला पत्रकारले घरबार र  पत्रकारिता पेशा विचको व्यवहार मिलाउन नसक्दा महिला पत्रकारहरु विवाहपछि पलायन हुने गरेका छन् ।
यता महिला पत्रकार भएर समाजमा स्थापित हुनका लागि निकै ठूला चुनौतिहरुलाई पार गर्नुपर्ने बाध्यता छ । अनि पत्रकारितामा प्रवेश गर्न चाहानेहरुलाई त झनै ठूलो हिम्मत र साहसको आवश्यकता छ । 
चुनौतीले भरिएको पत्रकारिता अनि, फिल्डमा निस्किएर आफुलाई फिल्डको वातारणमा घुलमिल गर्न पनि निकै कठिन हुन्छ । तर पनि हिम्मत र हौसला लिएर अघि बढ्ने हो भने जस्तो सुकै कठिनाई पार गरेर पनि एकदिन लक्षमा अवश्य पुग्न सकिने छ ।

मोफसल पत्रकारिता 

पत्रकारले राजनीति नछोडेसम्म सुधार हुन्न ।

रिना अधिकारी (समाचार प्रमुख) 
प्रभु एफएम, झलारी कञ्चनपुर
तपार्इंको पुरा परिचय पाउँ न ? 
— म रिना अधिकारी हो । म अहिले कञ्चनपर जिल्लाको झलारी पिपलाडी नगरपालिका–१०, झलारीमा बस्छु । मेरो जन्म कञ्चनपुरमै भको हो र हाल म हाम्रो कञ्चनपर जिल्लाको झलारी पिपलाडी नगरपालिका–१० झलारीमा रहेको रेडियो प्रभा एफ.एम १०२.६ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत छु ।  
तपाईले किन पत्रकारिता पेशा रोज्नु भयो ?
— म करिब १२ ÷१३ बर्ष कै भएका बेला देखि हाम्रो समाजमा हुने गरेका बिभिन्न राम्रा नराम्रा क्रियाकलापहरुलाई सबैका सामु उजागर गर्न चाहन्थे, पछि ठुलो भएपछि पत्रकारिता पेशाले यि कुराहरुलाई समेटेको पाएँ, जसले गर्दा मलाई पनि पत्रकारिता पेशा रोज्न मन लाग्यो ।  
कति समय भयो यस पेशामा लागेको ?
— मलाई गएको मंसिर १८ गते ठयाक्कै ५ बर्ष भयो यो पेशामा लागेको ।
कस्तो खालको पत्रकारिता गर्न रुचाउनु हुन्छ ? 
— उसरी त म सबैखाले पत्रकारिता गर्न रुचाउछु तर मानबअधिकारका कुराहरुलाई अझ बढी उजागर गर्न रुचाउछु ।
पत्रकारितामा त धेरै समस्याहरु छन भन्छन नि, कस्ता खालका समस्याहरु पाउनु भयो ? 
— यस्तै हो, हुन त समस्या नभएकोे कुनै क्षेत्र हुदैन तर पत्रकारितामा आफ्नै धेरै समस्या छन । अरु पत्रकारहरुले भोग्नु पर्ने समस्या समस्या मैले पनि भोगेकी छु, अब उदाहरणको लागी एउटा समाचार संकलनकै कुरा गरौं, कहिले काँहि त सत्ते समाचार लेख्यो भनेनि बाहिरबाट धम्की आउछ । मोफसलका सञ्चारमाध्यमहरुको आफ्नै खालको समस्या छ, सञ्चारकर्मीहरुले समयमै पारिश्रमिक पाउन नसकेको अवस्था छ । यस्ता  धेरै समस्याहरु रहेका छन पत्रकारिता क्षेत्रमा ।
यि त भए सवै पत्रकारहरुले भोग्नु परेका पिडा, महिला पत्रकार भएकै कारण अन्य समस्याहरु पनि भोग्नु परेको छ कि ? 
— महिला पत्रकार भएकै कारण त मैले खास्सै मेरो कार्य क्षेत्र भित्र त्यस्तो समस्या भोग्न परेको छैन तर अरु धेरै महिला पत्रकार साथीहरुका समस्याहरु मैले पनि सुन्ने गरेकी छु, त्यसैले ति समस्याहरुनै सवै महिला पत्रकारहरुका समस्या हुन भन्ने लाग्छ । 
मोफसलमा काम गर्ने पत्रकारहरुका त यो भन्दा पनि बढी समस्याहरु छन भन्ने गरिन्छ नि !
— समस्या नहुने त कुरै भएन मोफसलमा काम गर्ने पत्रकारहरुलाई । जति कम चेतनशील समाज हुन्छ, हामी जस्ता पत्रकारहरुलाई त्यती नै काम गर्नमा समस्याहरु हुन्छन तर मोफसलमा काम गर्न पाउनु अवसर पनि हो । हो, मोफसलका पत्रकारहरु आर्थिक रुपमा गरीव हुन्छन, सुरक्षाको दृष्टिले जोखिममा हुन्छन तर उनीहरु समाजका हरेक समस्यासंग भिजेका हुन्छन् । समाजका के कुरा समाचार बन्न सक्छन भन्ने बिषयमा अनुभवी हुन्छन् । त्यसकारण मोफसल समस्या मात्रै होईन अवसर पनि भएको ठाउँ हो ।
मोफसलै भएपनि कञ्चनपुर जिल्ला त व्यस्त एवं बिकसित जिल्लाको रुपमा चिनिन्छि, कस्तो छ यहाँको पत्रकारिताको अवस्था ? 
—नामले मात्रै बिकसित होला कामले त कञ्चनपुर जिल्ला पनि अरु जिल्ला जस्तै हो । गतिलै त केही छैन यताको पत्रकारिताको अवस्था पनि जटिल नै छ ।
मोफसल पत्रकारिताका समस्या समाधानका लागि नेपाल सरकारले कस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्ला ? 
— यस्तो क्षेत्रमा काम गर्ने पत्रकारहरुका लागी सरकारले बेला बेलामा तालिम सञ्चालन गर्नु पर्छ, प्रोत्साहन भत्ताको व्यवस्था गर्नु पर्छ साथै उचित कामको मुल्यांकन गर्दै सम्मान सहित पुरस्कृत गर्नु पर्छ । सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षाको ग्यारेण्टी गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याउनु पर्छ । 
पत्रकारिता पेशामा पाँच वर्षदेखि काम गर्दै हुनुहुन्छ, मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले कत्तिको भुमिका खेलेको पाउनु भएको छ ?
— खै, मैले थाहा पाएसम्म त मैले मोफसलमा काम गर्ने पत्रकारहरुका समस्या समाधानका लागि नेपाल पत्रकार महासंघले केही गरे जस्तो लाग्दैन, यसमा म अनविज्ञ छु ।
सञ्चारकर्मीहरुका बैचारिक संगठनहरुले मोफसल पत्रकारका समस्या समाधानका लागि कस्तो भुमिका खेलेको पाउनुहुन्छ ?
— म आफु अहिलेसम्म यस्ता कुनै संगठनसंग आवद्ध छैन, किन भन्दा मलाई अहिलेसम्म यस्ता संगठनहरुबाट कुनै बुलावा नै आको छैन भने कसरी यसको भुमिकाको बारेमा भन्न सक्छु ? त्यसैले यसमा पनि म आफै अनविज्ञ छु । 
तपाइको विचारमा पत्रकारिता के हो ?
— मेरो बिचारमा पत्रकारिता भनेको समाजको ऐना हो, पत्रकारिता गर्ने व्यक्तिले जे देख्यो त्यही सत्ते घटनामा आधारित भएर समाचार वा सूचना निष्पक्ष रुपमा लेख्न र भन्नु पर्छ जसले समाजमा रहेका अन्य व्यक्तिहरुमा चेतना जगाउन सकोस । यही नै एउटा पत्रकारको कर्तव्य र उद्देश्य हो । उही उसको जिम्मेवारी हुनुपर्छ मेरो बिचारमा ।
कति कमाउनु भयो त पत्रकारिता पेशावाट ? 
— अब पैशा त त्यस्तै हो यो पेशाबाट कमाइने तपाईलाई पनि थाहा भएकै कुरा हो, सामान्य जीवन यापन गर्न र आफुलाई पाल्न सम्म पुगेकै छ भनु । 
नेपालको पत्रकारिता क्षेत्र दिनप्रतिदिन बद्नामित हुँदै गएको छ, पाठक वर्गले समाचारको बिश्वासनीयताप्रति प्रश्न उठाउन थालेका छन, सञ्चारकर्मीहरु पनि गैर कानुनी क्रियाकलापमा संलग्न भएका छन भन्ने आरोप पनि लाग्न थालेको छ, तपाईलाई के लाग्छ ?
— अब के भन्ने नेपालमा सब यस्तै छ । जति नेपालमा राजनीतिक पार्टी छन त्यतै नै पार्टीसंग आबद्ध पत्रकारहरु पनि छन । जसरी राजनीतिमा ‘तेरो मेरो’ हुन्छ त्यसरी नै पत्रकारहरुले पनि तेरो मेरो भनेर नभएको कुरालाई पनि हो भनेर समाचार लेखेको पाइन्छ । अर्को कुरा कतिपय पत्रकारहरुले पैशा खाएर गलत समाचारलाई पनि सच्याएर झुठो लेखेको पाइन्छ । यस्ता कतिपय पत्रकारहरुले गर्दा खेरी नै आज सम्पूर्ण पत्रकारिता जगत नै बदनाम भएको छ । यस्तो सवै पेशामा छ, पत्रकारिता पेशा पनि यस्ता कुराबाट अछुतो रहन सकेको अवस्था छैन तर धेरै कम पत्रकार भनाउँदाहरु यस्ता कार्यमा लागेका छन भन्ने मलाई लाग्छ ।  
तपाई त लाग्नु भा छैनन् होला नि यस्ता कुरामा ! 
— छैन । म त अहिलेसम्म स्वतन्त्र नै छु, यस्तै रहन पनि चाहन्छु । म पत्रकारितामार्फत समाजको सेवा गर्न लागेको हुँ । त्यसैले मलाई गैरकानुनी काम गर्नु जरुरी छैन । 
यसमा सुधारका लागि के गर्नु पर्छ जस्तो लाग्छ ? 
— सुधारको लागी त जे गर्न पर्ने हो त्यो नेपालमा कहिले नि गर्न सकिदैन । किन भन्दा खेरी जहिलेसम्म पत्रकारले राजनीति गर्न छोड्दैनन् उहिलेसम्म स्वतन्त्र पत्रकारिता नेपालमा हुन्छ जस्तो मलाई त लाग्दैन ।
मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि तपाई नेपाल सरकारलाई के सुझाव दिन चाहानुहुन्छ ? 
— मोफसल पत्रकारिता क्षेत्रमा सुधारका लागि म नेपाल सरकारले सकिन्छ भने यस्तो क्षेत्रमा काम गर्ने पत्रकारहरुको परिश्रमको मुल्यांकन गरेर सम्मान र कदर गरिदेओस  भन्ने सुझाब दिन चाहन्छु । मोफसल क्षेत्रका बिज्ञापनहरुलाई मोफसलमै प्रकासन तथा प्रसारण हुने गरी एकद्वार बिज्ञापन प्रणाली कायम गरिदेओस । सञ्चारमाध्यम खोल्नका लागि निश्चित मापदण्ड बनाई सो मापदण्डलाई कडाईका साथ लागु गर्ने व्यवस्था गरिदेओस भन्नु सुझाव दिन चाहान्छु । 
अन्त्यमा भन्नै पर्ने कुनै कुरा छुटे जस्तो लागेको छ कि ? 
— भन्नै पर्ने कुराहरु त सवै आईसकेका छन जस्तो लाग्छ तर एउटा क,रा के भने अहिले त कामका भन्दा पनि नामका पत्रकारहरु धेरै देखिदै छन, यो क्षेत्रमा यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, समबन्धित निकायको समयमै यतातिर पनि ध्यान जाओस भन्न चाहन्छु । कुनै सञ्चारमाध्यमको कार्ड भिरेर आफुलाई पत्रकार हुँ भन्ने अनि पत्रकारको ‘प’ सम्म पनि थाह नहुनेहरुले गर्दा यो क्षेत्र बद्नामित भएको छ । 
समय र बिचारका लागि धन्यबाद । 
— धन्यबाद यहालाई र बिम्ब नेपाली साप्ताहिक पत्रिकालाई पनि । आफना केही बिचारहरु राख्ने अबसर मलाई पनि दिएकोमा ।

लोकसेवा आयोगको तयारीका लागि उपयोगी 

१) भारतका राष्ट्रपति पर्णव मुखर्जी नेपालको राजकिय भ्रमणमा कहिले नेपाल आएका थिए ?                  
— २०७३ कात्र्तिक १७
२) “बौद्धिकताको वास्तविक मुहान ज्ञान होइन, कल्पना हो” भन्ने विचारक को हुन् ?
                                                                      — अल्वर्ट आइन्स्टाइन
३) नेपालमा कति प्रकारका पारिस्थितिक प्रणाली रहेका छन् ?    — ११८
४) नेपालको परराष्ट्र नीतिका पर्वतक कसलाई मानिन्छ ?         — पृथ्वीनारायण शाह
५) दुध कुन तत्वका कारण सेतो हुन्छ ?                          — केजिन 
६)े क्ष्ऋग् को पुरा रुप के हो ?                —Intensive care Unit
७) मलेरिया कुन जातको लामखुट्टेको कारण सर्दछ ?               — एनोफिलिस
८) एभििभनचब कुन भिटामिनको कमीको लाग्दछ ?                — B3
९) नेपाल र अमेरिका बिच दौत्य सम्बन्ध कहिले स्थापना भएको थियो  ?   — सन् १९४७ अप्रिल २५
१०) नेपाललाई कुष्ठरोग मुक्त देश घोषणा कहिले गरिएको हो ?             — वि.सं. २०६६÷१०÷०५ 
११) धार्मिक मान्यता अनुसार कृष्णको शंखलाई के भनिन्छ ?                        — पाञ्चजन्य
१२) राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम प्रकाशित कृति कुन हो  ?                 — नवमञ्जरी
१३) तोरनल्ह पर्व कुन जातिले मनाउँदछन् ?                                         — थकाली
१४) राष्ट्रिय सभाको सदस्यका लागि प्रत्येक प्रदेशहरुबाट कति कति जना निर्वाचित हुने व्यवस्था छ ?                                                              
— ८÷८ जना 
१५) जनमत संग्रह गर्न सक्ने व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ? — धारा २७५
१६) दौडाहा प्रथाको सुरुवात कसले गरेको हुन् ?                                   — विर शम्शेर
१७) जयपृथ्वी (खोड्पे–बझाङ्ग) राजमार्गका लम्बाई कति रहेको छ ?                   — ११० कि.मि.
१८) पुवाखोला जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?                            — इलाम
१९) जनगणना २०६८ अनुसार नेपालमा हिन्दु धर्म मान्ने जनसंख्या कति प्रतिशत रहेको छ ?
                     — ८१.३ प्रतिशत
२०) भुकम्प मापन यन्त्र सिस्मोग्राफको आविष्कार कसले गरेका हुन् ?                  — जोन मिल्ने
२१) बालुवा कुनकुन तत्व मिलेर बनेको हुन्छ ?                            — सिलिकन र अक्सिजन
२२) बिमान कति उचाईमा उडिरहेको छ भन्ने जानकारी दिने यन्त्रलाई के भनिन्छ ?  — Altimeter
२३) ठेउला (ऋजष्अपभल उयह) रोग कुन जिवाणुका कारण लाग्दछ ?         — varicella zoster
२४) भारतका सम्राट अशोकको राज्यारोहण कहिले भएको थियो ?                    — इ.पू.२७३
२५)  दोस्रो विश्व युद्धमा जर्मनी, इटाली र जापान सम्मेलित सैनिक गुटलाई के भनिन्छ ?
— Axis Power
२६) सगरमाथालाई तेस्रो ध्रुव (त्जष्चम उयभि) भनी नामाकरण गर्ने व्यक्ति को हुन् ?   — माइकल कर्ग
२७) भित्रि मधेश वा दुन क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भुभाग ओगेटेको छ ?
                                                — ८.५ प्रतिशत 
२८) विश्वको सर्वाधिक गहिरो गल्छी माग्दी जिल्लाको दाना भन्ने ठाउँमा अन्नपूर्ण र धौलागिरी हिमालको बिचमा कालिगण्डकी नदीले बनाएको गल्छी हो भने यसको गहिराई कति रहेको छ ?   — ६,९६७ मिटर
२९) भुकम्पको कम्प उत्पति भइ सिधै आइपुग्ने पृथ्वीको सतहको केन्द्रलाई के भनिन्छ ?  — इपिसेन्टर
३०) डिसेम्बर २२ मा सूर्यको दिक्पात कति डिग्री दक्षिण हुन्छ ?                          — २३.५ ं
३१) व्यपारिक वायुको गति कति हुने गर्दछ ?                               —१६ देखि २४ कि.मि.
३२) टिम्बर कर्पाेरेसन कुन मन्त्रालय अन्तर्गत पर्दछ ?                 — वन तथा भूसंरक्षण मन्त्रालय
३३) सुनको रसायनिक संकेत के हो  ?                                                 — ब्ग
३४) मल्लकालमा गाउँको झै–झगडा हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?                          — द्वारे
३५) जितगढीको युद्धमा नेपाली फौजको नेतृत्व कसले गरेको थिए  ?                 — उजिर सिंह
३६) नेपालमा सर्वप्रथम स्नातकोत्तर() उतिर्ण  गर्ने  महिला को हुन् ?               — जयकला देवी 
३७) दत्तात्रेय मन्दिर कसले निर्माण गरेको थिए ?                                    — यक्ष मल्ल
बौद्धिक परीक्षण खण्ड
३८) 'Reading' is related to 'Knowledge' in the same way as 'Work' is related to:
A) Money        B) Engagement     C) Employment          D) Experience
३९) दिइएको श्रेणीमा प्रश्न चिन्ह(?) राखिएको ठाउँमा के हुन्छ ?
O, T, T, F, S, E, ?
A)        E                 B)  N                   C) O                  D) T
४०) अमिर, अर्जुन, अमर र अकबरको हालको उमेरको योगफल ८० बर्ष छ भने ३ बर्ष अघि  उनीहरुको उमेरको योगफल कति थियो होला ?
A ६६ बर्ष           B  ६८ बर्ष               C  ७१ बर्ष               D ७७ बर्ष
नोटः बौद्धिक परीक्षण प्रश्नको सही उत्तर अर्काे अंकमा प्रकाशन हुनेछ ।
संकलक÷प्रस्तुतकर्ताः प्रयाग राज उपाध्याय


साहित्य÷सृजना 

जमाना बदली गयो 

जमाना बदली गयो बदली गया मान्छे 
धर्म कर्म बेची हाल्यो आफु ठुलो ठान्छे
दाजुभाईमा फाटो हाल्ने राजनीतिक समाज 
अर्काको दिमागले चल्ने जान्नेहरु आज 
कोई भन्छ मधेश चाहियो कोइ पाहाड खोज्दैछ 
केको लागि यो लडाई हो जनताले सोध्दै छ
आज हाम्रो देश रोएको छ जनता रोयको छ
नेताहरू लडाउदैछन जनता सहेको छ
पार्टी फुटी खाजा बाजा कुर्चीको तानातान 
कसैका स्वार्थका लागि जनतामा हानाहान
फेसबुकका स्टेटस पढ्दा धेरै जाने जस्ता 
हाम्रो धर्म हाम्रो कर्म नजानेका कस्ता 
चाँहिदैन नेपालीलाई राजनीतिको भाषा 
शान्ति होई जाऊ अमन चैन जनताको आशा 
हाम्रो देशलाई रूवाऊने खवरदारी तिमीलाई 
सुतेका बाघ हौं हामी न विऊझाओ हामीलाई
नरेन्द्र खड्का

खै कसरी चिन्छौ 

कति दैव मलाई मात्र यति चोट दिन्छौ 
दुःख खप्न सक्ने भनी खै कसरी चिन्छौ 
भाग्य रेखा सा¥है कमजोर भएर पो हो की 
जुन चिज मेरो सा¥है पृय त्यो मबाट छिन्छौ 
कहाँ तिम्रो के बिराए भनिदेउन बरु 
सधैंभरी मेरो मात्र किन खुशी लिन्छौ 
बालापन नसिद्धिदै आँशुहरु सुकाई दियौ 
जीवनभरी रुनलाई अब कहाँबाट किन्छौ
भिरमा पुग्दा हात छोडी किन तिमि हिन्छौ 
किन दैव मलाइ मात्र यति चोट दिन्छौ
दुःख खप्न सक्ने भनी खै कसरी चिन्छौ ।
उदास यात्री  

गजल 

चाहिन्न बरू गोरी, हल्का काली भए हुन्छ ।
मलाई माया गर्ने, दिल वाली भए हुन्छ ।
सम्झौता र सहकार्यमा चल्नेछ जीवन 
हृदयमा मायालु सिट खाली भए हुन्छ ।
आउँदा उनी धन सम्पति पर्दैन केहि
अक्षता र फुलपातीको थाली भए पुग्छ ।
सन्तति जोगाउनलाई राख्नुपर्छ बीउ
उर्वर भुमीमा एकदुई बाली भए हुन्छ
कहिलेकाहीँ संयोगले ससुराली पुग्दा
भिनाजु के छ भन्दै सोध्ने साली भए हुन्छ ।
.................................
पढेर बुझ्नुभयो होला, भन्न खोज्या के हो 
गजल लेखे मनपरे ताली भए हुन्छ ।
प्रज्वल पौडेल, “पिस्क्वाएर”
रामेछाप

सूचना÷सन्देश÷बिज्ञापन 

सूचना ! सूचना !! सूचना !!!

डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा जिल्लाका ५० वटै गाबिस र दिपायल सलगढी नगरपालिकालाई यस अगावै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएकोमा जिल्लातथा क्षेत्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिवाट डोटी जिल्लाभित्र अनुगमन कार्यभईरहरकोले सम्पूर्ण डोटीवासी दाजुभाई, दिदिबहिनीहरुले आफ्नो घर, कार्यालय, बिद्यालय तथा सार्वजनिक स्थलमा रहेका शौचालयको सुधार र प्रयोग गरि खुला दिसामुक्त अभियानलाई सफल पार्नमा सहयोग गर्नु हुन अनुरोध छ । साथै सरसफाई सभ्य समाजको परिचय पनि भएकाले सभ्य नागरिकको पहिचान सवैले सधैंका लागि वनाऔं ।
जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, डोटी